नयाँ दिल्ली- सन् १९९५ मा विहार विधानसभा निर्वाचनमा न त आरजेडी (राष्ट्रिय जनत दल) थियो, न त जेडियू (जनता दल युनाइटेड) नै। सन् १९९४ मा जेडियूका नीतिशकुमार समता पार्टी बनाएर लालु यादवसँग अलग भएका थिए।
सन् १९९५ मा नीतिशकुमार कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी-लेनिनवादी) अर्थात् सिपिआई (एमएल)सँग मिलेर निर्वाचन लडेका थिए। सिपिआईसँग उनको राजनीतिको पहिलो गठबन्धन भयो। उनको नेतृत्वमा समता पार्टीले ३१० सिटमा उम्मेदवारी दियो। तर पार्टीले ७ सिटमा मात्र जित हात पार्यो। उनको गठबन्धनमा रहेको सिपिआई (एमएल)ले ६ सिटमा जित हात पार्यो। त्यो समयमा एकीकृत विहार विधानसभामा कुल ३२४ सिटमा निर्वाचन हुने गर्दथ्यो।
सन् २०२० मा आइपुग्दा यो चक्र यस्तो बदलियो कि सिपिआई (एमएल) राष्ट्रिय जनता दलसँग मिलेर निर्वाचनमा खडा भयो। १९ सिटमा उसले आफ्ना उम्मेदवार उभ्यायो। जसमा १२ सिटमा जित हात पार्न सफल भएको छ। उनीसँगै रहेका सिपिआई र सिपिएमले दुई दुई सिटमा जित हात पारेका छन्।
विहार विधानसभाको निर्वाचनको नतिजा जसरी आयो त्यसले सिपिआई (एमएल)को पुनः उदय भएको स्पष्ट हुन्छ। वामपन्थी दलले २९ सिटमा उम्मेदवार खडा गराएका थिए। त्यसमध्ये १६ सिटमा जित हात पारेका छन्। यो कुल उम्मेदवारको ५५ प्रतिशत हो। बंगाल र केरलापछि विहार वामपन्थीहरूको विधायक धेरै भएको तेस्रो संख्यामा पुगेको छ।

वर्ग संर्घषको राजनीति
२०२० को विधान सभा चुनावमा सिपिआई (एमएल)लाई सञ्जीवनीको काम गरेको छ। अघिल्लो पटक यी पार्टीहरू एक्लै चुनावी मैदानमा आएका थिए। तर यसपटक भने आफ्नो विचारधारासँग सम्झौता गर्दै उनीहरूले राष्ट्रिय जनता दलजस्तो क्षेत्रीय पार्टीसँग गठबन्धन गरे‚ जसले गर्दा गुमाएको आफ्नो क्षेत्र फेरि आफ्नै पोल्टामा ल्याएका छन्। सन् २०१५ को विधान सभा निर्वाचनमा वामपन्थी दलले तीन सिटमात्र जित हात पारेका थिए।
अघिल्लो पटकको नतिजाबाट पाठ सिकेर भारतीय जनता पार्टीलाई सत्ताबाट अलग राख्ने उद्देश्य लिएर महागठबन्धनमा सहभागी भएका थिए। जहाँ एकतर्फ आरजेडी छ‚ जो जातिगत राजनीतिमा पोख्त मानिन्छ। त्यहीँ वर्ग राजनीति गर्ने सिपिआई (एमएल) मिसिएर उनीहरूले निर्वाचनमा लडे। यो बेमेल जोडी किन बन्यो भनेर पटक पटक प्रश्न उठेपनि उनीहरुले लोकतन्त्रको रक्षाका लागि एक भएको जवाफ दिएका छन्। उनीहरुको गठबन्धन मुख्यमन्त्री चलाउन सक्ने बहुमतमा नपुगेपछि सत्तापक्षलाई दबाब दिने अवस्थामा भने पुगेको छ।
विधानसभामा हालसम्म भारतीय जनता पार्टीलगायतको एनडिए (नेसनल डेमोक्रेटिक एलायन्स)को १२५, आरजेडीको ११० र अन्यको ८ सिट रहेको छ। १२२ सिट भएमा बहुमत हुने गर्दछ। नीतिशकुमार पछिल्लो १५ वर्षदेखि विहारको मुख्यमन्त्रीको रुपमा रहेका छन्। यस पटक पनि उनी नै मुख्यमन्त्री हुने पक्का भएको छ। केन्द्रीय सत्तारुढ पार्टी भारतीय जनता पार्टीले नीतिशलाई साथ दिएकाले उक्त गठबन्धन यस पटक बलियो भएको देखिन्छ।

जब लेफ्ट नै विहारमा विपक्ष थियो
विहारमा वामपन्थी पार्टी ७० को दशकमा मजबुत थियो। विहार विधानसभामा सिपिआईले १९७२ देखि ७७ सम्म मुख्य विपक्षी पार्टीको रुपमा रहेको थियो। तर १९७७ मा कर्पूर ठाकुरले विहारमा पछाडि परेका जातिका लागि सरकारी जागिर र आरक्षण दिने फैसला गरे अनि वामपन्थी दलहरु खस्कँदै गए।
पछि मण्डल कमिसन लागू भयो र वामपन्थी पार्टीहरुले बोक्दै आएको वर्गसंर्घषको बहस जातीय पहिचान र राजनीतिमा सुरू भयो। १९९० मा सिपिआई (एमएल) भूमिगत थियो। इन्डियन पिपल्स फ्रन्टको नामबाट चलिरहेको थियो। १९९० देखि १९९५ मा वामपन्थी दलमा ठूला नेताहरुको उदय भएको थियो, जसमा सूर्य देव सिंह, कृष्णदेव सिंह, श्री भगवान सिंह थिए।
जब वामपन्थीदलहरु लालु यादवसँग मिले अनि उनीहरुको पतन शुरु भयो। उनीहरु कहिल्यै पनि एक भएर निर्वाचनमा उभिएनन्। १९९५ पछि पहिलो पटक लेफ्टहरुको पहिलो एक गठबन्धन थियो। पछिल्लो पटक २०१५ को विधानसभा निर्वाचनमा उनीहरू महागठबन्धनको हिस्सा थिएनन्। निर्वाचनमा पनि उनीहरु एकजुट भएनन्। कन्हैया कुमार वामपन्थी दलमा समावेश भएपछि नयाँ बहस शुरु भएको थियो।
सिपिआईका नेता कन्हैयाले यो पटक नेताको प्रचार भने गरेनन्। विहार विधानसभा निर्वाचनमा सिपिआई (एमएल)को अहिलेसम्मकै राम्रो प्रदर्शन मानिन्छ। सन् २००० मा ६, २००५ मा ५, २०१० मा खाता नै खोल्न सकेको थिएन भने २०१५ मा आएर ३ सिट जितेको थियो।
-बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।