नयाँ दिल्ली (एजेन्सी)- बलिउड तथा दक्षिण भारतका प्रभावशाली अभिनेता प्रकाश राज राजनीतिप्रति राम्रो सुझबुझ राख्ने कलाकारमा पर्छन्। यतिबेला उनलाई आफ्नो त्यही राजनीतिक सुझबुझ फिल्मी करिअरमा अवरोध बनिदिएको छ। राजनीतिक टिप्पणीकै कारण आफू बलिउडमा खाली हात बस्नुपरेको उनले खुलाएका छन्।
उनले फिल्म उद्योगमाथि आरोप लगाउँदै भारतको मोदी सरकार विरुद्ध कडा टिप्पणी गरेका छन्।
नेसनल अवार्ड विजेता यी कलाकारका अनुसार जबदेखि उनले प्रधानमन्त्री नरेन्द्र मोदीका नीति र सरकार विरुद्ध बोल्न सुरु गरे, तबदेखि बलिउडले उनीसँग सम्बन्ध तोडे जस्तो गरेको छ।
द प्रिन्टसँग कुराकानी गर्दै उनले भनेका छन्, 'दक्षिण भारतीय फिल्म उद्योगसँग मलाई कुनै समस्या छैन। तर, जबदेखि मैले प्रश्न उठाउन थालेँ, तबदेखि मैले हिन्दी फिल्म उद्योगबाट प्रस्ताव आउन बन्द भयो।'
प्रकाश राज त्यो समय समाचारमा छाएका थिए, जब उनले गत वर्ष पत्रकार गौरी लंकेशको हत्याको घटनामा प्रधानमन्त्री मोदीको मौनताबारे प्रश्न गरेका थिए।
उनले भने, 'म गौरीको हत्याको खबरदेखि एकदमै डिस्टर्ब भएँ, खासगरी दक्षिण भारतीय फिल्म उद्योगको रबैया देखेर। गौर केवल प्रश्न सोधिरहेकी थिइन्। मलाई यो कुरा देखेर निकै नमज्जा महसुस हुन्छ, के उनको लडाइँमा हामीले उनलाई एक्लै छाडिदियौं? मलाई जति चुप लगाउने कोसिस गरिन्छ, म झन् बढी सवाल उठाउँछु।'
२०१७ को सेप्टेम्बरमा पत्रकार गौरी लंकेशको बेंग्लुरुस्थित उनको निवास बाहिर केही अज्ञात आक्रमणकारीले हत्या गरेका थिए।
मोदीको प्रतिबद्धतामाथि सवाल
द प्रिन्टसँगको कुराकानीमा प्रकाश राजले प्रधानमन्त्री मोदीलाई उनले गरेका केही प्रतिबद्धता पनि सम्झाएका छन्।
उनले भने, 'प्रधानमन्त्रीको कुराबाट मानिसहरुलाई आशा थियो- देशमा २ करोड रोजगारी सिर्जना गरिन्छ, कालोधन देशमा फिर्ता ल्याइन्छ। तर, बितेका साढे तीन वर्ष त्यस्तो केही पनि भएन। उल्टै भाजपा (प्रधानमन्त्री मोदीको पार्टी)का नेताहरु बितेको समयका कुरा गर्छन्। उनीहरु नेहरुले के गरे वा टिपू सुल्तानले के गरे वा सनातन हिन्दु धर्मले के भन्छ भन्ने कुरा गर्छन्। म आफ्नै जिजुबाजेलई त चिन्न सक्दिनँ, मलाई के मतलब टिपू सुल्तानले के गरेका थिए!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।