काठमाडौं–राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्ने छ। तिनै उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत लगानी गर्ने छ।
बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले यस्तो कर्जाले निर्वाहमुखी कृषि उत्पादनलाई व्यावसायिकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए। गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले यस्तो कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिक स्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाउँपालिकाको संस्थागत ग्यारेण्टी हुने बताए।
उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष एकमाया बि।क, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, सल्लाहकार भीम वली, कर्मचारीहरु, स्थानीय उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।