काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक विकासका लागि पारदर्शिता र स्वच्छता आवश्यक पर्ने भन्दै त्यसका लागि लेखा प्रणाली महत्वपूर्ण पक्ष भएको लेखा व्यवसायी जिम्मेवार बन्नुपर्ने बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय लेखा दिवसको कार्यक्रममा मन्त्री पौडेलले लेखा प्रणालीलाई विश्वसनीय र व्यवस्थित तुल्याउन सबै लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका हुन्।
'लेखा व्यवसायीले विश्वसनीयता कायम गर्न सक्दा मात्रै स्वच्छता र पार्दशिता कायम हुन सक्छ,' मन्त्री पौडेलले भने, 'त्यसका लागि संस्थागत र व्यक्तिगत दुवै हिसाबले तपाईंहरू क्रियाशील भएर लाग्नुहोला।'
कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राज्य संचालनका क्रममा शक्तिको दुरुपयोग हुन सक्ने भन्दै लेखा व्यवसायीले त्यसमा अनुशासित भएर काम गर्नुपर्ने उल्लेख गरे।
'लेखा व्यवसायीले लेखा पनि आफैँले राख्ने, योजना पनि आफैँ बनाइदिने र अनुगमन तथा सुपरीवेक्षण पनि आफैँले गर्ने गरेको पाइएको छ,' उनले भने, 'यसमा पारदर्शिता र जवाफदेहीताका लागि उनीहरूले अनुशासित भएर काम गर्नुपर्ने हुन्छ।'
दंगालले संसारभर लेखा व्यवसायीको जिम्मेवारी र भूमिका बढिरहेको भन्दै नेपालका लेखा व्यवसायीहरूले पनि आर्थिक पारदर्शिता र व्यावसायिक दक्षता बढाउने गरी काम गर्नुपर्ने बताए। 'नियमनका नयाँ रूप अहिले आएका छन्, त्यसमा लेखा व्यवसायीरहरूले पनि आफूलाई अभ्यस्त बनाउँदै लैजानुपर्छ,' उनले भने।
आइक्यानका अध्यक्ष मदनकृष्ण शर्माले राष्ट्रको आर्थिक विकासमा लेखा व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। उनले लेखा व्यवसायीको आर्थिक र सामाजिक उत्तरदायित्व रहने भन्दै यस क्षेत्रमा संलग्न सबैले वित्तीय अनुशासन कायम हुने गरी काम गर्नुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।