काठमाडौं–सरकारले विदेशी प्रकाशनले छपाइ गरेका आयातित पुस्तकमा लगाइएको भन्सार कर हटाउने निर्णय गरेको छ। आर्थिक वर्ष २०७६/७७ बाट आयातित पुस्तकमा १० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेकोमो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई हटाउने निर्णय गरेको हो।
किताबमा भन्सार लगाइएको भन्दै स्वदेशी प्रकाशकहरु यसको विरोधमा उत्रिएका थिए। किताबमा कर लगाउँदा ज्ञानमा बन्देज लगाइएको भन्दै सांसदहरु पनि विरोधमा सहभागी भएका थिए।
भन्सार विभागको तथ्यांकअनुसार नेपालमा ७५ देशबाट पुस्तक आयात भइरहेका छन्। विभिन्न तहको पाठ्यक्रममा आधारित पुस्तकदेखि नेपालीहरुको जीवनी तथा साहित्यसमेत विदेशबाट नै छापिएर आउने गरेका छन्।
नेपालमा तत्कालीन अर्थमन्त्रीहरु डा रामशरण महत, मधुकरशमसेर राणा र भरतमोहन अधिकारीको पालामा पनि पुस्तकमा कर लगाउने घोषणा गरिएको थियो। त्यतिबेला पनि पर्याप्त तयारी नपुगेको भन्दै सरकारले कार्यान्वयन गरेको थिएन।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटमा गरिएका करका व्यवस्थाहरु धमाधम संशोधन हुन थालेका छन्। यसअघि विद्युतीय सवारीसाधनमा ८० प्रतिशत भन्सार कर लगाइएकोमा असोज दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई घटाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।