काठमाडौं- सेन्सेटिभ सूचकमा सुधार हुन नसक्दा १३ अंकले सुधारिएको बजार अन्तिममा ४.२२ अंकले सुधारिएर बन्द भएको छ। कारोबार सुरु भएको एक घण्टासम्ममा १३ अंकले सुधारिए पनि 'क' वर्गका कम्पनीमा सुधार देखिएन। वाणिज्य बैंक, होटल, विकास बैंक, जलविद्युत कम्पनी, जीवन बीमा कम्पनी र म्युचुअल फण्डको सूचकमा गिरावट आएको छ भने बाँकी सूचकमा सुधार आएको छ।
बैंकिङ सूचक सुधार हुन नसक्दा अन्य कम्पनीहरुमा उछाल आए पनि दोस्रो बजारमा भने खासै सुधार हुन सकेन। कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सानिमा जनरल इन्स्योरेन्स कम्पनीमा अधिकतम सुधार हुँदा सर्किट लागेको छ।
दोस्रो बजारमा थोरै शेयर पुँजी भएका तथा सस्ता मूल्यमा लगानीकर्ताले खेल्न खोजेका हुन्। थोरै शेयर भएका कम्पनीको मूल्य बढाएर नेप्से सूचक बढाउन खोजे पनि धेरै शेयर भएका बाणिज्य बैंकको सूचकमा खेल्न सकेका छैनन्। वाणिज्य बैंकको १० अर्बभन्दा धेरै शेयर पुँजी भएकाले यस्ता कम्पनीमा केही दिन सुधार गरे पनि तत्काल सेलिङ प्रेसर आउने भएकाले खेलाडीलाई चलखेल गर्न गाह्रो परिरहेको छ।
सोमबार दोस्रो बजारमा तीन अर्ब ६९ करोड रुपैयाँको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको मात्रै ५५ करोड रुपैयाँको कारोबार भएको छ। कम्पनीको मूल्यमा ८.३९ प्रतिशतले सुधार हुँदा कारोबार रकम बढेको हो। त्यस्तै नेपाल टेलिकमको पनि १३ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।