काठमाडौं- सत्तारुढ नेकपा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी कमिटीले गरेका निर्णयहरु दराजमा सजाउनका लागि नगरिएको बताएका छन्। सोमबार बोहराले एक प्रेस विज्ञप्तिमार्फत् पार्टी विवादका विषय छलफल गर्न तत्काल बैठक बोलाउनुपर्ने माग गरेका छन्।
‘पार्टीका निर्णयहरू आवश्यकताले कार्यान्वयनको लागि गरिन्छ। दराजमा सजाउनको लागि होइन’ बोहराले विज्ञप्तिमा उल्लेख गरेका छन्‚ ‘पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरु आजसम्म कार्यान्वयन नभई निष्क्रिय बसेका छन्।’ पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरु २९ महिनासम्म थाति हुनु दुःखद भएको बोहराले बताए।
बैठक राख्ने विषयलार्य प्रतिष्ठानको विषय नबनाउन आयोगले आग्रह गरेको छ। ‘जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं। बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पार्टी एकताका बाँकी सबै कामहरु छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाऔँ।’ पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिस्ट आचरणमा विचलनजस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गर्नुपर्ने विज्ञिप्तमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।