काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाज्यूले धितोपत्र बजारको प्रतिष्ठा बढाउनका लागि ब्रोकरहरुलाई ट्रेड म्यानेजमेनज सिस्टम 'टिएमएस' प्रभावकारी बनाउन निर्देशन दिएका छन्। ब्रोकर एसोसिएसका नव नियुक्त पदाधिकारीहरुसँगको भेटघाट कार्यक्रममा ढुङ्गानाले टिएमएस प्रभाकारी बनाई बैंक इन्ट्रिगेसनको कार्य चाँडै सम्पन्न गरी लगानीमैत्री बनाउन उनले अनुरोध गरेका छन्।
ढुङ्गानाले लगानीकर्ताहरुको चाहना अनुरुपका धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्तामैत्री बजार बनाउनुपर्ने बताए। मार्जिन कारोबारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखा कार्यालयमार्फत् दोस्रो बजारको पहुँच विस्तार गर्ने, आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐनअनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने, ब्रोकर कमिसनसम्बन्धी अध्ययन भइसकेकोमा सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिनेलगायतका कार्य आगामी दिनमा सम्पन्न गर्नुपर्ने अध्यक्ष ढुङ्गानाले बताए।
भेटमा नवनियुक्त अध्यक्ष मैनालीले कोभिड–१९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै आएको उल्लेख गर्दै यसबीचमा अनलाइनमार्फत् कारोवार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख वृद्धि भई दोस्रो बजारको दायरा बढिरहेकोमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई नयाँ उपकरणमार्फत् लगानीको थप अवसर प्रदान गरी बजार विस्तार गर्ने चुनौती कायमै रहेको बताए।
धितोपत्रको दोस्रो बजार प्रविधिमैत्री हुँदै गर्दा ट्रेड म्यानेजमेनज सिस्टम र यसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई धितोपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित बनाउनुपर्ने मैनालीले बताए।
स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त उपाध्यक्ष धर्मराज सापकोटा लगायत अन्य पदाधिकारीहरुले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागत बनाउदै लैजान आवश्यक रहेकोले त्यसमा एशोसियशनले विशेष भूमिका खेल्ने बताउँदै नियमन निकायको रुपमा बोर्डले दिने निर्देशनको अक्षरसः पालना गर्दै जाने र बजार विकासका लागि बोर्डबाट अभिभावकको भूमिका अपेच्छा गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।