काठमाडौं–अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा लगातार वृद्धि हुँदा नेपाली बजारमा एक सातामै ३२ सय रुपैयाँले बढेको छ। सोमबार पनि सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ। सोमबार नेपाली बजारमा प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, प्रति १० ग्राम ८४ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको भाउ पनि सोमबार प्रति तोला १० रुपैयाँले बढेको छ। नेपाली बजारमा चाँदी प्रति तोला १२८५ रुपैयाँमा कारोबार भइरहेको छ। दीपावली नजिकिँदै गर्दा सुन चाँदीको भाउ आकासिएका कारण कारोबार ठप्प छ।
कोभिड–१९ को संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि सुनको भाउमा उछाल आउन थालेको हो। युरोपका केही देशहरुले कोभिड नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिरहेका छन्। अमेरिकाले पनि चुनावलगत्तै कोभिड नियन्त्रणका लागि लकडाउन गर्ने हल्लाले पनि सुनको भाउ बढ्न थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।