काठमाडौं–एभरेष्ट बैंकको कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेख्य सुधार हुँदा पनि कोभिडका कारण ऋणीले व्याज भुक्तानी नगर्दा नाफामा गिरावट आएको छ। बैंकको व्याज आम्दानी ११ प्रतिशतले घटेको छ। बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा तीन अर्ब १६ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ। जबकि गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा तीन अर्ब ५८ करोड रुपैयाँ थियो।
यस अवधिमा बैंकको कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेख्य सुधार आइसकेको छ। यसै कारण बैंकको खुद व्याज आम्दानीमा २८ प्रतिशतले गिरावट आएको बैंकले जनाएको छ। बैंकले तीन महिना अवधिमा एक अर्ब २ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ।
खुद व्याज आम्दानीको असर बैंकको नाफामा देखिएको हो। बैंकको नाफा ५१.५४ प्रतिशतले घटेर ३३ करोड ४७ लाख रुपैयाँमा झरेको छ। जबकि गत वर्षको सोही अवधिमा बैंकको नाफा ६९ करोड ८ लाख रुपैयाँ थियो।
बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ३.३१ प्रतिशतले कर्जा विस्तार गरेको छ भने ९.०६ प्रतिशतले निक्षेप संकलन गरेको छ। यसै अवधिमा बैंकले एक खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको खराव कर्जा ०.१७ प्रतिशतबाट बढेर ०.२२ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानीमा १६ रुपैयाँले गिरावट आएर १५ रुपैयाँमा झरेको छ। यस वर्ष बैंकको नाफा गिरावट हुनुको कारण स्प्रेड दरमा गिरावट आउनु पनि हो। बैंकले स्प्रेड दर ५.२५ प्रतिशतबाट ३.९४ प्रतिशतमा झारेको छ। यसले बैंकको व्याज आम्दानीमा भारी गिरावट ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।