काठमाडौं– नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन्। कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन्।
कमल गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्। जितबहादुरले भने सागमा टिम पुम्सेमा कांस्य पदक जितेका थिए। कमलको समूहमा नाइजेरियाका अकान्डे सामुयलले रजत तथा मल्लवाराचिंगे नलका सम्पथ र नेपालका रामकुमार पोखरेलले कांस्य जिते। जितबहादुरले नेपालका प्रेमबहादुर लिम्बूलाई पछि पारे। नेपालका विवेक राई र मकाउका काई लियोङले तेस्रो स्थानमा चित्त बुझाए। पुरुषकै ५० वर्षमाथिको स्पर्धामा नेपालका ईश्वरमान वज्राचार्यले स्वर्ण जिते। उनले नेपालकै विजय शाहलाई पछि पारे। महिलाको ५० वर्षमुनिको स्पर्धामा नेपालकी निरुकुमारी मगरले स्वर्ण जितिन्।
पुरुष १७ वर्षमुनिको प्रतिस्पर्धामा म्यानमारका साई अङले पहिलो स्थान हात पारे। मलेसियाका एडम सुहाइमीले दोस्रो स्थान हात पार्दा सुरिनेमका यसवीर गोपाल र मलेसियाका याप हानले तेस्रो स्थानमा चित्त बुझाए। महिलाको १४ वर्षमुनिको समूहमा सुरिनेमकी चेएने तिजोई पहिलो, थाइल्यान्डकी कविनतिडा दोस्रो तथा भारतकी विजिता गोश्वामी र मलेसियाकी नारा नुर युसुफले कास्य पदक जितिन्। महिला १७ वर्षमाथिको स्पर्धामा भने चार वटै पदक मलेसियाका खेलाडीले जित्न सफल भयो। फिलिस चीनले स्वर्ण, इफास हनिफले रजत तथा फराह मदारुस र विलियमिन लिनीले कांस्य जितेका छन्। महिलाकै ४० वर्षमुनि मेक्सिकोकी अना इस्पिनोसा पहिलो, नेपालकी रेखमाया गुरुङ दोस्रो र भारतकी अर्चना सामपाङ तेस्रो भएका छन्।
पुरुषको ५० वर्षमाथिको प्रतिस्पर्धामा मेक्सिकोका जुआन भेलास्कोले स्वर्ण जिते। उनले नेपालका लक्ष्मणबहादुर ऐरलाई उछिन्दै स्वर्ण जितेका हुन्।
भारतका प्रमित कुमार र नेपालका राजु नगरकोटीले कास्य जिते। पुरुषकै २१ वर्षमुनि मलेसियाका चाङ सुनले स्वर्ण जित्न सफल भए। नेपालका लक्ष्मण श्रेष्ठले रजत जित्दा नेपालकै सुजन चौधरी र कृष्णबहादुर बम्जनले कांस्यमा चित्त बुझाए। महिलाको २९ वर्षमुनि मलेसियाकी मारर्लियन लियानले स्वर्ण जितिन्।
उनले नेपालकी पार्वती गुरुङलाई पछि पार्दै स्वर्ण जितिन्। नेपालकी निर्मला विक र मकाउकी कावा माकले कांस्य पदक पाए।
च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।