काठमाडौं- दोस्रो बजारमा सूचीकृत कम्पनीको बजार पुँजीकरण हालसम्मकै उच्च भएको छ। आइतबार नेप्से सूचक १२.४९ अंकले सुधार भएर १६४८.५८ मा पुग्दा बजार पूँजीकरण २२ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी भएको हो। यो हालसम्मकै उच्च हो।
हाल दोस्रो बजारमा २१२ वटा कम्पनी सूचीकृत छन्। सूचीकृत कम्पनीको जम्मा चुक्ता पुँजी ४ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ।
गत साता पनि नेप्से सूचक आइतबारकै बिन्दुमा थियो। तर एक साताको अवधिमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी थपिएको छ भने केही कम्पनीको हकप्रद तथा बोनस सेयर पुँजी सूचीकरण भएको छ। यसले गर्दा एउटै विन्दुमा पनि नेप्सेको बजार पुँजीकरण एक साताकै अवधिमा उच्च भएको हो।
आइतबारकै बिन्दुमा गत साता नेप्से भएपनि बजार पुँजीकरण २२ खर्ब एक अर्ब रुपैयाँ थियो। दोस्रो बजारमा भैरहेको सुधारका कारण नेप्सेको विभिन्न सूचकमा नयाँ रेकर्ड बन्ने कायम भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।