काठमाडौं– संघीय 8वादी फोरम नेपालको पहिलो महाअधिवेशन आगामि माघ २७, २८ र २९ गतेका लागि जनकपुरमा हुने भएको छ। तिन दिनदेखि काठमाडौंमा जारी फोरमको केन्द्रीय समिति बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो।
बैैठकले पार्टीको प्रथम महाधिवेशनको मिति तय गर्नेदेखि, संविधान संशोधन, सरकारमा सहभागिता र पार्टी कार्यालयको आफ्नै भवन निर्माण गर्ने लगायतको निर्णय गरेको छ।
संविधान संशोधनको बारेमा ठोस ढंगले बैठकमा उठेको आवाजलाई मूर्त रुप दिँदै संंविधान संशोधनबारे सरकारसँग लिखित एवं सार्थक सहमति नभएसम्म सरकारमा नजाने पार्टीले अडान लिएको छ।
मधेशी, आदिवासी, जनजाति लगायतका विभिन्न समुदायहरुको सामाजिक सांस्कृतिक एवम् धार्मिक पहिचानसँग सम्बन्धित रहेका राष्ट्रिय बिदाहरु कटौती गर्ने सरकारको निर्णय गलत भएको निश्कर्ष निकाल्दै सो निर्णयलाई फिर्ता लिन बैठकले सरकारसँग माग गरेको छ।
बैठकले नेपालको संविधानको धारा ५६ को उपधारा (५) मा भएको व्यवस्थाअनुसार स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र स्थापना गरी सोको क्षेत्राधिकार समेतको व्यवस्था गर्न माग गरेको छ।
त्यस्तै, जन्मसिद्ध नागरिकता प्राप्त गरिसकेका नेपाली नागरिकहरुका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिइनुपर्ने समेत आवाज उठाएको छ।
नीति, सिद्धान्त मिल्ने पार्टी वा संगठनहरुसँग पार्टीगत एकता र मुद्दा मात्र मिल्ने शक्तिहरुसँग कार्यगत एकता एवम् मोर्चागत रुपमा अगाडि बढ्ने पार्टीको नीतिलाई निरन्तर रुपमा जारी नै राखिरहने निर्णयसमेत भएको छ।
सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव रामसहाय प्रसाद यादवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र महासचिव रणध्वज कंदङ्वाद्धारा प्रस्तुत कार्य सम्पादन प्रतिवेदन बैठकबाट सर्वसम्मतले पारित भएको छ।
काठमाडौंको तिनकुनेमा केन्द्रीय कार्यालय रहेको फोरम नेपालले ललितपुर महानगरपालिका–१४ स्थित रानीबुँमा पार्टीको भवन निर्माण गर्ने निर्णय गरेको छ।
यसैगरी, फोरम नेपालको केन्द्रीय बैठकले पदाधिकारीमा रिक्त रहेको पदपूर्ति गर्दै राजनीतिक समिति र केन्द्रीय समितिमा मनोनयन गरेको छ। बैठकले प्रकाश अधिकारीलाई पार्टीको उपमहासचिव तथा बाँकेबाट प्रत्यक्ष निर्वाचित सांसद इस्तियाक राईलाई केन्द्रीय सचिवमा चयन गरेको छ।
बैठकले ५ जनालाई राजनीतिक समिति र २७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।