काठमाडौं- नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली गुटले निरन्तर आफू पक्षीय नेताहरुको भेला गर्दै आएको छ। पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला सो गुटले भने भेलामार्फत आफ्नो पक्षका नेताहरुलाई सक्रिय बनाउने प्रयास गरिरहेको हो।
पार्टी बैठक राख्न अनिच्छुक देखिएका ओलीले आफू पक्षका नेताहरुलाई एक जुट राख्न यस्तो भेलामा प्रोत्साहन दिने गरेका छन्। शनिबार मात्रै सचिवालयका पाँच नेताले बैठक बोलाउन ओलीलाई लिखित पत्र बुझाएका छन्। तर ओलीले सचिवालय बैठक नबोलाउने स्पष्ट पारेका छन्। 'तपाईंहरु ममाथि गुटबन्दी गरिरहनुभएको छ', ओलीको भनाइ थियो, 'म बैठक बोलाउँदिनँ।'
ओलीले बहुमत पक्षले गुट चलाइरहेको, गुटलाई केन्द्रमा राखेर अघि बढिरहेको आरोप लगाएका थिए। तर, शनिबारै उनी पक्षका नेताहरु एक भेलामा जुटेका थिए।
शनिबार दिउँसो ईश्वर पोखरेलले आफू निकट नेताहरुलाई बोलाएर काठमाडौंको बसुन्धरास्थित एक होटलमा भेला आयोजना गरी सम्बोधन गरेका थिए। काठमाडौं जिल्लाभरका ओली गुटका नेताहरुलाई बोलाएर पोखरेलले सम्बोधन गरेको पार्टी केन्द्रीय सदस्य कृष्णबहादुर राईले पुष्टि गरे।
राई आफैंले संयोजन गरेर भेलाको आयोजना गरेका थिए। ‘कोरोना महामारीका कारण पार्टी बैठक हुन सकेको छैन। नेता कार्यकर्तासँग भेटघाट र कुराकानी हुन पाएको छैन’, केन्द्रीय सदस्य राईले भने, ‘त्यसैले काठमाडौंका मात्रै नेता कार्यकर्ता भएर भेटघाट गरेका हौं। त्यस्तो पार्टी गुटको भेला गरेका होइनौं।’
पार्टी नेताहरु बसेर अनौपचारिक छलफल मात्रै गरेको राईले बताए। शनिबारको भेट पार्टी विवादसँग सम्बन्धित नरहेको उनको दाबी छ।
गत बुधबार पनि ओलीले बालुवाटारबाटै जुममार्फत प्रदेश १ का आफू निकट नेताहरुलाई सम्बोधन गरेका थिए। मदन भण्डारी फाउण्डेसनमार्फन वडास्तर सम्म गठन गरी जनताको बहुदलीय जनवाद (जबज) बहसमा लैजान उनले निर्देशन दिएका थिए।
पार्टीमा जबजको खाँचो बढ्दै गएकाले जबजको बहस फेरि ब्युँताउनुपर्ने ओलीको भनाइ थियो।
सो भेलामा ईश्वर पोखरेलले पनि सहभागी थिए।
मदन भण्डारी फाउन्डेसनको कार्यक्रममार्फत ओली पक्षले आफ्नो गुटलाई विस्तारित गर्ने र त्यसैलाई पार्टीजस्तो अगाडि बढाइरहेको उनीइतर पक्षका नेताहरुले आरोप लगाउँदै आएका छन्।
शनिबारकै भेलामा बहुमत पक्षले गुटलाई प्रोत्साहन दिएको भन्दै आरोप लगाएपछि प्रचण्डले प्रतिवाद गरेका थिए। उनले बुधबार भएको जुम भेलाको उदाहरण दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।