काठमाडौं- बालुवाटार पुगेका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ सचिवालय सदस्यलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाउने प्रष्ट पारेका छन्। सचिवालय बैठक बोलाउन आग्रह गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठलाई ओलीले आफ्नो पूर्ववत् अडान दोहोर्याएका हुन्।
'तपाईंहरुले मविरुद्ध गुटबन्दी गरिरहनुभएको छ। मलाई पदबाट हटाउन खोजिरहनुभएको छ,' ओलीले भनाइ उद्धृत गर्दै एक नेताले भने, 'बैठक किन बस्ने?'
ओलीले बैठक बोलाउन अस्वीकार गरेपछि नेताहरुबीच केहीबेर चर्काचर्की भएको थियो।
अध्यक्ष प्रचण्डले ओली स्वयंले गुटबन्दी गरेको आरोप लगाएका थिए। त्यसका लागि उनले बालुबाटारका भेटघाटदेखि जुम मिटिङसम्मलाई सन्दर्भको रुपमा प्रयोग गरेका थिए। साथै, आफूमा कार्यकारी अधिकार रहेको विषयलाई अस्वीकार गरिएको पनि बताए।
शनिबार प्रधानमन्त्री निबास बालुवाटार पुगेका ५ नेताले बैठकका लागि ओलीलाई लिखित पत्रमार्फत् सचिवालय बैठकका लागि सहमति दिन आग्रह गरेका थिए। तर ओलीले त्यसलाई बेवास्ता गरिदिएपछि बैठक भने अन्यौल भएको छ।
'अध्यक्ष ओलीले आज बैठकको बारेमा निष्कर्ष दिनुभएको छैन। हामीले सकभर भोलि नै, नभए पर्सिसम्ममा बैठक बसेर सबै विषयमा गम्भीरतापूर्वक छलफल गरौं र पार्टीलाई एकताबद्ध गराऔं, विधि र पद्धतिको आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वयन गर्ने, छलफल र कामकारबाहीमा एकरुपता कायम गर्दै अगाडि बढ्ने दिशातिर जानेगरी निष्कर्ष निकालौं भनेर अनुरोध गरेका छौं', बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई भनेका थिए।
उनले ओलीले बैठक बस्न इन्कार गरिरहे भने के गर्ने भनेर आफूहरुले नसोचेको र अहिले सोच्ने बेला पनि नभएको बताए।
बालुवाटार पुगेका पाँच नेताले शुक्रबार र शनिबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेर ओलीसँगको छलफलबारे तयारी गरेका थिए। शुक्रबारकै बैठकबाट शनिबार ओलीलाई सामूहिक रुपमा भेटेर बैठकबारे अनुरोध गर्ने निर्णय गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।