काठमाडौं- नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरूसँग भर्चुअल रूपमा छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले प्रदेश १ का प्रदेश कमिटी र जिल्ला कमिटीका आफू निकटका केही नेताहरूसँग छलफल गरेका हुन्।
बुधबार बिहान भएको आफ्नो गुटगत भर्चुअल छलफलमा उपधानमन्त्री ईश्वर पोखरेलसमेत सहभागी भएको उनको सचिवालयले जानकारी दिएको छ। बालुवाटारबाट प्रधानमन्त्री ओलीले पोखरेलसमेतको सहभागितामा प्रदेश तथा जिल्ला कमिटीका आफू निकटका नेताहरूसँग करिब १ घण्टाजति छलफल गरेका हुन्।
छलफलमा उपप्रधानमन्त्री पोखरेल सहभागी भएका भएपनि प्रधानमन्त्री ओलीले मात्र आफ्ना कुरा राखेका थिए। पार्टीको विवाद, सरकारका कामलगायतका विषयमा उनले धारणा राखेका पोखरेलको सचिवालयले जनाएको छ।
जुममार्फत् भएको भेला पार्टीमा जस्तोसुकै अवस्था आएपनि स्वीकार गरेर अघि बढ्न उनले प्रदेश तथा जिल्ला कमिटीका नेताहरूलाई निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए।
पार्टीका नेता कार्यकर्तासँग पार्टी अध्यक्षले छलफल गर्नु नौलो विषय नभएको उनको भनाइ छ।
अन्य प्रदेशमा पनि प्रधानमन्त्री ओलीले आफूनिकटका नेताहरूसँग छलफल गर्ने तयारी गरेको समेत बताइएको छ। पार्टीमा विवाद भएका बेला अध्यक्ष ओलीले आफू निकट नेताहरूसँग मात्र छलफल चलाउनु अर्थपूर्ण रूपमा लिइएको छ। तर प्रधानमन्त्री सचिवालय स्रोतले भने कोरोनाका कारण प्रत्यक्ष भेटघाट गर्ने समय नमिलेपछि भर्चुअल मिटिङ गरिएको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।