काठमाडौं–अमेरिकी चुनावपछि लकडाउन हुन सक्ने हल्लासँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेको छ। केही युरोपेली मुलुकहरुले कोभिड नियन्त्रणका लागि लकडाउन गरेका छन्। अमेरिकामा कोरोना संक्रमणबाट करिब एक करोड मानिस संक्रमित भइसकेका छन्। चुनावका कारण जमघट धेरै हुँदा पछिल्ला दिनमा दैनिक एक लाखभन्दा धेरै संक्रमित थपिन थालेका छन्।
चुनावी परिणाम डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको पक्षमा जाने र उनले कोभिड नियन्त्रणका लागि लकडाउन गर्ने चर्चा चल्न थालेको छ। कोरोना भाइरसलाई खासै वास्ता नगरेका डोनाल्ड ट्रम्प बाहिरिने भए पनि अबको केही समय अर्थतन्त्रले गति लिन नसक्ने विश्लेषकहरु बताउँछन्। यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुन साता यताकै अधिकतम मूल्यमा कारोबार भइरहेको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंन्स १९५१ डलरमा कारोबार भइरहेको छ।
विश्वका अधिकांश मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गइरहेको छ। यसले गर्दा सुनको माग बढ्दै जाने विश्लेषण गरिएको छ। अर्थतन्त्र कमजोर हुँदा सुन खरिद गर्न सक्ने क्षमता कमजोर भए पनि लगानीका अन्य ढोका बन्द हुँदै गर्दा सुरक्षित लगानीको रुपमा सुनलाई लिइन्छ।
डलरको भाउ कमजोर हुँदा पछिल्लो समय सुनको भाउमा उछाल आइरहेको छ। अमेरिकी चुनावका कारण अमेरिकी डलर सूचक पनि लगातार खस्किरहेको छ। अमेरिकी डलर लामो समयदेखि खस्कँदै आएको छ। हाल यस्तो सूचक ९२ अंकमा झरेको छ। दुई वर्षको अन्तरालमा सूचक १०४ बाट ९२ मा झरेको हो। चुनाव तथा कोभिडका कारण थप कमजोर भएको हो।
अर्कोतर्फ अमेरिकी चुनावलगत्तै नयाँ बजेट आउनेछ। यस पटक अमेरिकाले थला परेको अर्थतन्त्रलाई उकास्ने गरि स्टिमुलस प्याकेज ल्याउने तयारी गरिरहेको छ। यदि उक्त प्याकेजले अर्थतन्त्रलाई सुधार गर्ने देखिएमा सुनको भाउमा पुनः गिरावट आउने विश्लेषकहरु बताउछन्। यसका लागि केही समय कुर्नु पर्ने हुन्छ।
यसको असर नेपाली बजारमा पनि परिसकेको छ। दीपावली नजिकिँदै गर्दा नेपालमा सुनको भाउ बढ्दा ग्राहकहरु मर्कामा पर्ने देखिन्छ। एक महिना अवधिमा सुनको भाउ प्रति तोला तीन हजार रुपैयाँले बढिसकेको छ। हाल नेपाली बजारमा प्रति तोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।