नेपालगञ्ज–नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताएका छन्।
नेपालगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ढकालले भने, ‘आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।
यसअघि शुक्रबार गुलरिया उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रमका सदस्यहरुले पछिल्लो समय महासंघको प्रतिष्ठा गिर्दो अवस्थामा रहेको र स्थानीय स्तरमा यस महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुलाई वडा सदस्यको जस्तो मान्यता पनि नदिने गरेको गुनासो गरेपछि ढकालले सो धारणा राखेका हुन्।
ढकालले भने, ‘हो, म पनि दुई–तीन वर्ष यतादेखि नै देशका प्रायः सबै जिल्लामा पुगेको छु र सबै साथीहरुका समस्या र गुनासाहरु सुनेको छु, उहाँहरुको अनुभव पनि यही छ कि देशको निजी क्षेत्रको यो गरिमामय संस्थाको सम्मान र साख पहिलेको तुलनामा ह्रास हुँदै गएको छ, यसको प्रतिष्ठालाई माथि उठाउन केन्द्रीय पदाधिकारीहरुले नै उल्लेखनीय काम गर्नुपर्नेछ।’
‘जबसम्म यो संस्थाको प्रतिष्ठा र सम्मान रहन्छ तबमात्र राज्य र यसका सम्बद्ध निकायहरुले पनि यस संस्थाका प्रतिनिधिहरुका समस्या र गुनासा सुन्नेछन्, हाम्रो नेगोसिएसन पावर बढ्नेछ र जसका कारण समग्र निजी क्षेत्रको प्रवद्र्धन भई देशको आर्थिक विकासमा टेवा पुग्नेछ,’ ढकालले भने ।
उनले महासंघलाई नेपाल सरकार र सरकारका प्रतिनिधि, देशको कर्मचारीतन्त्र र मुलुकका राजनीतिक दलका नेताहरु समेतले गर्ने इज्जत तथा धारणाहरुमा गर्ने सुनुवाइमा ह्रास आइरहेको आफूले पनि पाएको उल्लेख गर्दै भने, ‘अब हामीप्रतिको समग्र समाजको यो सोच र व्यवहारमा आमूल परिवर्तन ल्याउनुपर्छ, निजी क्षेत्रका माग सुन्न सकेमा मात्र देशको आर्थिक विकास हुन्छ र यसले मात्र राष्ट्रिय समृद्धि हासिल हुनसक्छ भन्ने वास्तविकता राज्यका समग्र निकायलाई बुझाउन सजिलो हुनेछ।’
व्यापारी, व्यवसायीलाई कुनै अप्ठेरो प¥यो भने तथा आफ्ना समग्र व्यावसायिक हकहीतका विषयमा समस्या उत्पन्न भए राज्य पक्षसँग नेगोसिएसन गर्ने र तत्कालै समाधान निकाल्नका लागि अग्रसरता लिनसक्ने खालको नेतृत्व महासंघलाई आवश्यक रहेको उपाध्यक्ष ढकालले बताए।
‘कतिपय हाम्रा जायज मागको पनि सुनुवाइ नभएको अवस्था छ भने कैयौं मुद्धामा हामी ‘पोलिसी मेकिङ’का हिसाबले पनि सुनुवाइको उपेक्षामा परेका छौँ,’ ढकालले भने, ‘त्यसैले यी हाम्रा यावत व्यावसायिक हकहितहरुलाई राज्यबाट सुनुवाइ गराउन सक्ने सक्षम नेतृत्व अबको महासंघलाई चाहिएको हो ।’
उनले आफू महासंघको वरिष्ठ उपाध्यक्षमा आएपछि यिनै विषयमा बहस र पैरवी चलाउने र काम गरेरै देखाउने प्रतिबद्धता जनाए।
‘मैले केही वर्षयतादेखि तपाईँ व्यवसायीहरुका यस्तै गुनासा र समस्या सुनेर मुलुकको एकफेरो लगाइसकेको छु, म आफैं पनि व्यवसायी भएकाले तपाईँहरु सानादेखि ठूला उद्यमी व्यवसायीका सबै समस्या थाहा छ, त्यसैले म नेतृत्वमा आएपछि यी सबै विषयमा बहस र पैरवी प्रारम्भ गर्नेछु र एक्सनमा नै जानेछु, यो तपाईँहरुसँग मेरो बाचा नै हो,’ उनले भने।
ढकालले व्यवसायीका रुपमा काम गरेकोदेखि देशैभरिका व्यवसायीका समस्या र गुनासा सुनेको अनुभव भएकाले आफूलाई महासंघको नेतृत्वमा रहेर काम गर्न र यस संस्थालाई व्यवसायीमैत्री बनाउन अरुलाई भन्दा आफूलाई सजिलो भएको पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।