काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय गरेको छ। प्राधिकरणको कार्यकारी समितिको बैठकले शुक्रबार यससम्बन्धी निर्णय गरेको हो।
नयाँ समयसीमा अनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरुले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नुपर्नेछ।
त्यसैगरी, पहिलो किस्ता लिइसकेका सबै पुनर्निर्माण लाभग्राहीहरुले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ।
सम्पूर्ण पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ बैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि नै सकिनँ लागेकोले यो नै अन्तिम समयसीमा हुने बताए।
'त्यसैले, निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीहरुलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन आग्रह गर्दछौं,' उनले भने।
त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन दिन पनि अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।