काठमाडौं–हिमालयन बैंक र बैंक अफ काठमाण्डूले मेलम्ची खानेपाली आयोजनाको बैंक ग्यारेन्टीवापत् फसेको पैसा फिर्ता पाउने भएका छन्। चीनको तल्लो अदालतले दुई बैंकको पक्षमा मुद्दा फैसला गरेसँगै चाइना रेलवे ग्रुप अफ कम्पनीले बैंक ग्यारेन्टी बसेवापत लगेको रकम फिर्ता गर्नु पर्ने भएको हो। बैंकले प्राप्त गर्नु पर्ने रकमका लागि शुक्रबार नै दाबी गर्ने बैंक अफ काठमाण्डू स्राेतले जानकारी दिएको छ।
चीनको तल्लो अदालतले नेपाली बैंकको पक्षमा मुद्दा फैसला गरे पनि चाइना रेलवे कम्पनीले माथिल्लो अदालतमा पुनरावेदन गरेमा दाबी प्रक्रिया केही लम्बिने बैंकले जनाएकाे छ। तर, माथिल्लो अदालतमा गए पनि पुनः जित्ने सम्भावना ९९ प्रतिशत हुने बैंकको दाबी छ।
मेलम्ची खानेपाली आयोजनाको बैंक जमानत बस्दा बैंक अफ काठमाण्डूको ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो सहित जम्मा ८५ करोड रुपैयाँ फसेको थियो। त्यस्तै हिमालयन बैंकको ६६ करोड रुपैयाँ फसेको थियो। दुबै बैंकको जम्मा एक अर्ब ५१ करोड रुपैयाँ फसेको थियो। चीनको अदालतले उक्त रकम हर्जार्नासहित फिर्ता पाउने गरि मुद्दा फैसला गरिदिएको हो।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको चाइना रेल्वे ग्रुप अफ कम्पनीले सम्झौताको १५ प्रतिशत भुक्तानी लगेर कामै नगरी २०६९ भदौमा सम्झौता तोडेर भागेको थियो।
मूख्य ग्यारेन्टी बसेको चाइना कन्सट्रक्सन्स बैंकले रकम भुक्तानी नगरेपछि मेलम्ची आयोजनाले सहायक काउन्टर ग्यारेन्टी बसेका बिओके र हिमालयन बैंकसँग क्षतिपूर्तिको दाबी गरेको थियो। चीनको अदालतले मुख्य ग्यारेन्टी बसेको चाइना कन्सट्रक्सन बैंकले दुबै बैंकलाई पैसा तिर्नु नपर्ने मुद्दा फैसला गरे पछि दुबै बैंकले चाइना रेलवे ग्रुप अफ कम्पनीविरुद्ध मुद्धा हालेका थिए। मुद्धा फैसला भएसँगै दुबै बैंकले बैंक ग्यारेन्टी बसेबापत फसेको पैसा फिर्ता आउने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।