काठमाडौं- राजस्व समूहका उपसचिवद्वय सेवन्तक पोखरेल र हरिहर पौडेलको लेखनमा 'भन्सार प्रणाली र यसका सम्बन्धहरू' पुस्तक बजारमा आएको छ। भन्सार प्रशासनसँग जोडिने विभिन्न पक्षहरूलाई समेटेर पुस्तक तयार पारिएको छ।
पुस्तकमा भन्सार प्रणाली र नेपालमा भन्सारको इतिहास, भन्सार प्रशासनको संरचना र पैठारी एवं निकासीसम्बन्धी व्यवस्थाहरू समावेश गरिएको छ। यस्तै वस्तु वर्गीकरण, भन्सार दरबन्दी र महसुल सम्बन्धी व्यवस्था, उत्पत्तिको नियम र भन्सार मूल्यांकनका विषय पनि पुस्तकमा समावेश गरिएको छ।
यसैगरी प्रज्ञापनपत्र र भन्सार प्रक्रिया, भन्सार प्रविधि, जाँचपासपछिको परीक्षण, चोरी पैठारी तथा वस्तुको गलत घोषणा, भन्सार सुधारका आयाम, भन्सार एजेन्ट सम्बन्धी व्यवस्था, भन्सार र अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय भुक्तानी र वस्तु प्राप्ति र भन्सार र अन्य निकायबीचको सम्बन्धबारे चर्चा गरिएको छ।
राजस्व प्रशासनभित्रको महत्वपूर्ण पक्ष भन्सारलाई मानिन्छ। यसका प्रक्रिया जटिल भएकाले आम नामगरिकले झन्झटिलो मान्ने गरेका छन्। त्यसैलाई सरल रूपमा बुझाउने गरी पुस्तक तयार गरिएको लेखक पोखरेलले जानकारी दिए।
भन्सार प्रशासनमा लामो समय काम गरिसकेका उनीहरूले आफ्नो अनुभव, कामका सिलसिलामा तयार गरिएका सूचनालगायतलाई एकीकृत गरी पुस्तकमा समावेश गरिएको छ। 'भन्सार सम्बन्धी विषयमा जानकारी प्राप्त गर्न चाहने आयातकर्ता, निर्यातकर्ता, भन्सार एजेन्ट, राजस्व प्रशासनमा सेवा प्रवेश गर्न चाहने सबैलाई पुस्तक सहयोगी बन्ने विश्वास छ,' पोखरेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।