काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठनको निर्णय फिर्ता नहुने बताएका छन्।
शीर्ष तहका नेताको बैठकमा सभापति देउवाले विभाग बाहेक अन्य विवादित मुद्दामा छलफल गर्न सकिने बताएका हुन्। बैठकमा सहभागी देउवा पक्षीय नेता एनपी साउदले सभापति देउवाको अभिव्यक्ति उद्धृत गर्दै भने, ‘विभाग बाहेक विषयमा छलफल गर्न सकिन्छ। गठन भइसकेको विभागमा विवाद नगरौं।’
विधानतः २८ हुनुपर्ने विभागलाई ४७ पुर्याइएको छ। २० विभागका प्रमुख र सदस्यले देउवाले मनोनयन गरिसकेका छन्। अन्य नेताले बोल्ने क्रमको बीचबीचमा देउवाले विभाग बाहेकका विवादित विषयमा छलफल गर्न सकिने बताएका थिए।
बिहीबारको बैठकबाट पनि वरिष्ठ नेता पौडेल पक्ष आशावादी देखिएको छैन। पौडेल पक्षले पेश गरेको १६ बुँदेमा छलफल भएपनि संस्थापन पक्ष विगतको निर्णयको बचाउमै देखिएको थियो।
‘१६ बुँदे अवधारणाको मुल उद्धेश्य लोकतान्त्रिक पार्टीमा विधि विधानलाई आत्मसाथ गर्दै महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउनु हो‚’ बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने,‘विभाग गठन विधान र परम्परा विपरित बनाइएको छ। महाधिवेशनको आचार संहिताविपरीत छ।’
क्रियाशील सदस्यता वितरण अपारदर्शी भएको पौडेल पक्षले आजको बैठकमा पनि राखेको थियो। विधानले निर्देशित गरेका मापदण्ड ख्याल नगरी क्रियाशील सदस्यता वितरण भएको केसीले बताए। अन्य दलबाट आएकालाई प्रक्रिया बाहिर रहेर संस्थापनले क्रियाशील सदस्यता बाँडेको पौडेल पक्षको ठहर छ। ‘क्रियाशील सदस्यता विधान बाहिरबाट आफु खुसी वितरण गरिएको छ।
निर्देशिकाअनुसार संगठन समायोजन भएको छैन। केन्द्रीय निर्वाचन समितिले गरेको निर्णयलाई पनि मानिएको छैन‚’ नेता केसीले भने, ‘पाँच वर्ष अघि फर्म भरेर पैसा बुझाएकाले क्रियाशील सदस्यता पाएका छैनन्। पहिले नै क्रियाशील सदस्यता लिए जस्तै गरि अहिले नयाँलाई क्रियाशील सदस्यता दिइएको छ।’ देउवाले राखेको प्रस्ताव आफ्नो समूहलाई मान्य नहुने नेता केसीले बताए। समग्रतामा समाधान निकाल्नुपर्ने उनले बताए।
पौडेल पक्षका नेताहरुले आफ्ना मागको नजिक रहेर समाधान निकाल्नुपर्ने पुरानै अडान दोहोर्याएका थिए। विवादित विषयमा समाधान पहिल्याएर मात्रै केन्द्रीय समितिको बैठक बस्नुपर्ने पौडेल पक्षको माग थियो।
शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक सोमबारका लागि सारिएको छ। पौडेल पक्षको विरोध पत्रमा केन्द्रीत रहेको छलफल बिहीबार टुंगोमा पुग्न नसकेपछि शुक्रबारको लागि सारिएको छ। देउवा निवास बुढानिलकण्ठमा शुक्रबार १२:३० बजे बस्नेगरी बिहीबारको बैठक स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।