काठमाडौं- नेपाल राष्ट्र बैंकले नयाँ मनी एक्सचेन्जर खोल्दा लाग्ने शुल्क बढाएको छ। भारतीय मुद्रा सहित अन्य देशको मुद्रा सटही गर्ने मनी एक्सचेन्जर कम्पनीको पुँजी, इजाजतपत्र शुल्क, इजाजतपत्रका लागि धरौटी, नगद धरौटी रकम बढेको छ।
राष्ट्र बैंकले पुरानो 'नेपाल राष्ट्र बैंक मनीचेञ्जर विनियमावली, २०६७' खारेज गरि 'नेपाल राष्ट्र बैंक मनीचेञ्जरस इजाजतपत्र तथा निरिक्षण विनियमावली, २०७७' कार्यान्वयनमा ल्याएको छ। उक्त विनियमावलीअनुसार नयाँ मनीचेञ्जरको अनुमति दिनु परेमा २५ हजार रुपैयाँदेखि एक लाख २५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। भारतीय रुपैयाँ खरिद बिक्री कारोबारका लागि २५ हजार, परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि एक लाख रुपैयाँ र दुवै कारोबारका लागि एक लाख २५ हजार रुपैयाँ लाग्नेछ।
भारतीय रुपैयाँ खरिद बिक्री कारोबारका लागि इजाजतपत्रको एक लाख रुपैयाँ धरौटी आवश्यक पर्ने भएको छ। त्यस्तै परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि ५ लाख रुपैयाँ र दुवैको लागि ६ लाख रुपैयाँ आवश्यक पर्नेछ।
मनीचेन्जरको कारोबार गर्ने कम्पनीको नगद धरौटी पनि बढाइएको छ। भारतीय रुपैयाँ खरिद बिक्री कारोबार गर्ने संस्थाले ५० हजार रुपैयाँ नगद धरौटी जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि ७५ हजार रुपैयाँ र दुवै कारोबारका लागि एक लाख रुपैयाँ लाग्नेछ।
नयाँ विनियमावलीअनुसार भारतीय रुपैयाँ खरिद बिक्री कारोबार गर्ने संस्थाको चुक्ता पुँजी १० लाख रुपैयाँ तोकिएको छ भने परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि १५ लाख रुपैयाँ र दुवै कारोबार गर्ने संस्थाको लागि २० लाख रुपैयाँ तोकिएको छ। यसभन्दा अगाडि भारतीय मुद्राको कारोबार गर्ने संस्थाको चुक्ता पुँजी ५ लाख रुपैयाँ थियो। परिवर्त्य विदेशी मुद्राको कारोबार गर्नेको लागि १५ लाख रुपैयाँ नै थियो साथै दुवै कारोबार गर्नेको लागि २० लाख रुपैयाँ नै थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।