काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ कारण विद्युतीय कारोबार उल्लेख्य मात्रामा वृद्धि भएको बताएका छन्। रिजर्भ बैंक अफ इण्डियाले आयोजना गरेको ४० औ सार्क फाइनान्स चेयर बैंठकमा अधिकारीले विद्युतीय कारोबार वृद्धि हुँदा वित्तीय पहुँचमा वृद्धि हुने धारणासमेत राखेका थिए।
उनले त्यसअवसरमा कोभिडले नेपालको अर्थतन्त्रमा असर गरेको पनि बताए।
गभर्नर अधिकारीले कोभिडका कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवं त्यसको न्यूनीकरणका लागि अवलम्बन गरिएका पुनर्कजाको सीमा वृद्धि, कर्जा वर्गीकरण तथा प्रोभिजनिङ व्यवस्था, थप चालु पुँजीको व्यवस्था, कर्जाको पुनर्तालिकीकरण पुनर्संरचना लगायत नीतिगत विषयमा आफ्नो धारणा राखेका थिए।
बैठकमा नेपाल राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू अफगानिस्तान बैंक, बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, रिजर्भ बैंक अफ इण्डिया, माल्दिभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नरहरु, डेपुटी गभर्नरहरु तथा अधिकारीहरूको सहभागिता रहेको थियो।
भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले कोभिड–१९ को प्रभाव न्यूनीकरणका लागि कूल गाहस्र्थ उत्पादनको १० प्रतिशत बराबरको पोलिसी रेस्पोन्स कार्यान्वयन गरेको उल्लेख गर्दै बैंकले चालेका अन्य नीतिगत व्यवस्था, समग्र आर्थिक परिसूचक एवं वित्तीय अवस्थाका विषयमा समेत जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।