काठमाडौं-काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको भाडा तथा रुट निर्धारण गर्ने अधिकारसहितको उच्चस्तरीय पूर्वाधार निर्माण विकास समिति गठन हुने भएको छ। मन्त्रिपरिषदले हालै स्वीकृत गरेको समितिसम्बन्धी गठन आदेशअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा प्राधिकरण गठन हुनेछ।
समितिलाई उपत्यकामा चल्ने सार्वजनिक सवारीको रुट तथा त्यसको भाडादर निर्धारण गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने अधिकार दिइएको छ। काठमाडौं उपत्यका सार्वजनिक यातायात सम्बन्धमा अवलम्बन गर्नुपर्ने अल्पकालीन तथा दीर्घकालीन नीति, योजना र रणनीतिको मस्यौदा तयार गर्ने अधिकार पनि समितिलाई दिइएको छ।
काठमाडौंमा एकीकृत यातायात प्रणालीको विकास र सञ्चालन सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान गर्ने अधिकार पनि समितिलाई दिइएको छ। काठमाडौं उपत्यकामा विद्युतीय प्रणालीमा आधारित एकीकृत प्रणाली, नगदविहीन भाडा प्रणाली र विद्युतीय टिकट प्रणालीको विकास गर्न अध्ययन पनि समितिले गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।