काठमाडौं-प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक गाभेसँगै नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासिक अवधिमा गत वर्षको यहि अवधिको तुलनामा ५४.२४ प्रतिशतले नाफा बढाएको हो। बैंकले तीन महिनाको अवधिमा एक अर्ब एक करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
बैंकले तीन महिनाको अवधिमा एक खर्ब २४ अब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत असारको तुलनामा निक्षेप संकलन ४.२४ प्रतिशतले बढेको छ भने कर्जा लगानी २.७१ प्रतिशतले बढेको छ।
नाफासँगै खुद व्याज आम्दानी पनि ४६ प्रतिशतले बढाएर एक अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ। शुल्क तथा कमिसनमार्फत् हुने आम्दानी पनि ३४ प्रतिशतले बढेर ६० करोड एक लाख रुपैयाँ आर्जन गरेको छ।
कोभिडका कारण बैंकको खराब कर्जा भने ०.२३ प्रतिशत विन्दुले बढेर १.३७ प्रतिशत पुगेको छ। व्याजदरमा आएको गिरावटसँगै बैंकको कष्ट अफ फण्ड पनि तल झरेको छ। नाफामा सुधार भए पनि वितरणयोग्य मुनाफा भने जम्मा ३५ करोड ९८ लाख रुपैयाँ छ। प्रतिशेयर आम्दानी १० रुपैयाँले बढेर २९ रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।