काठमाडौं–प्राइम कमर्सियल बैंकले साढे तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो। बैंकले सर्वसाधारणका लागि एक अर्ब ४० करोड रुपैयाँको ऋणपत्र जारी गर्नेछ।
बाँकी दुई अर्ब १० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टमार्फत् बैंक आफैले बिक्री गर्नेछ। ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा आरविवि मर्चेन्ट रहेको छ। सर्वसाधारणले ८ वर्षका लागि ८.५ प्रतिशत व्याजदर प्राप्त गर्न सक्ने छन्। बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त भएको मौका छोप्दै प्राइमले सस्तो व्याजदरमा ऋणपत्र जारी गर्ने भएको हो। एक वर्ष अगाडि ऋणपत्र निष्काशन गर्दा १० प्रतिशतभन्दा माथि हुने गर्थ्यो। नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नै पर्ने व्यवस्था गरेको छ। यही व्यवस्था बमोजिम बैंकले उक्त ऋणपत्र निष्काशन गर्ने भएको हो।
त्यस्तै कामना सेवा विकास बैंकले पनि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। बैंकले १० वर्ष अवधिका लागि ९.५ प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो।
बैंकले सर्वसाधारणका लागि ४० करोड रुपैयाँ जारी गर्नेछ भने प्राइभेट प्लेसमेन्टबाट ६० करोड रुपैयाँ आफैले बिक्री गर्नेछ। ऋणपत्र निष्काशन तथा बिक्रीका लागि बैंकले एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।