काठमाडौं- कोरोना परीक्षणमा निजी ल्याबले गरेको लापरबाहीको भागीदार हुनुपरेको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेको छ। महाप्रबन्धक डिमप्रकाश पौडेलले निजी ल्याबहरूले गरेको लापरबाहीका कारण एयरलाइन्स समस्या परेको भन्दै मन्त्रालयमा पत्राचार गरेका हुन्।
निजी ल्याबहरुले कोरोनाको नेगेटिभ रिपोर्ट दिएपनि नेपाल एयरलाइन्समार्फत विदेश गएका यात्रुमा कोरोना पोजेटिभ देखिएको भन्दै विभिन्न देशले नेपाल एयरलाइन्सलाई चेतावनीपत्र पठाउन थालेका थिए।
नेपालबाट गएका यात्रुमा कोरोना देखिएको भन्दै हङकङले नेपाल एयरलाइन्सको उडान नै प्रतिबन्ध लगाएको छ। यस्तो प्रतिबन्धन बिहीबारसम्म लागू हुने बताइएको छ।
एयरलाइन्सबाट आएका यात्रुमा कोरोना देखिएको भन्दै हङकङले गत अक्टोबर ४ देखि १७ सम्म र अक्टोबर २० देखि नोभेम्बर ३ सम्मका लागि उडान प्रतिबन्ध लगाएको थियो। त्यसपछि पुनः यूएइको दुबई अन्तर्राष्ट्रिय विमानस्थलले २ पटकसम्म नेपालबाट आएका यात्रुमा कोरोना देखिएका कारण सचेत हुन र यो क्रम नरोकिए उडान नै बन्द गर्ने भन्दै चेतावनीपत्र पठाएको थियो।
दुबइको चेतावनीपत्रसँगै एयरलाइन्सले पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई पनि उक्त विषयमा जानकारी गराउँदै स्पष्ट निर्देशनको माग गर्दै पत्राचार गरेको हो।
नेपाल एयरलाइन्सलको हङकङ उडान बन्द हुँदा ३० करोडभन्दा बढी व्यापार गुमाइसेको छ। थप क्षति रोक्न समयमै स्पष्ट निर्देशनका लागि मन्त्रालयमा पत्रचार गरेको नेपाल एयरलाइन्सका महाप्रबन्धक पौडेलले जानकारी दिए। नेपाल एयरलाइन्सले सरकारबाट मान्यताप्राप्त सबै ल्याबको रिपोर्टलाई मान्यता दिने गरेको छ।
हङकङमा एयरलाइन्सको उडान बन्दको व्यापक असर उसको व्यापारमा परेको छ। हङकङले एयरलाइन्सलाई प्रतिबन्ध लगाएको भए नेपाल एयरलाइन्सले यो समयमा हङकङमा मात्रै १० वटा उडान गरिरसकेको हुने थियो। अहिले नेपाल एयरलाइन्सको हङकङ व्यापार ‘सेटिङ’मा कार्गो उडान अनुमति पाएको गेटजेट एयरलाइन्सले लिएको छ।
यसैगरी दुबई अन्तर्राष्ट्रिय विमानस्थलले पनि नेपालबाट आएका यात्रुमा कोरोना देखिएको भन्दै नेपाल एयरलाइन्सलाई उडान प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिन थालको छ। निगमले दुबईमा सातामा सात वटै उडान गरिरहेको छ। यता हङकङमा भने सातामा तीन उडान गर्दै आएको थियो।
निजी ल्याबहरुले विदेश जाने कामदारको कोरोना परीक्षणमा नक्कली रिपोर्ट दिने गरेको विषय विवादमा पर्दै आएको छ। कतिपय ल्याबले त कोटा स्याम्पलिङका आधारमा परीक्षण गरेर रिपोर्ट दिइरहेको स्रोतको भनाइ छ।
कोरोना परीक्षण गर्न स्वाब दिएपछि सेल्फ आइसोलेसनमा बस्नुपर्नेमा सम्बन्धित यात्रुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा समस्या आएको ल्याबहरुको भनाइ छ। तर निजी ल्याबहरुले गुणस्तरहीन भिटिएम प्रयोग गर्दा रिपोर्टमाथि नै प्रश्न उठेको विषयमा बहस हुन थालेको छ। रिपोर्टमाथि एकपछि अर्को प्रश्न उठेपछि वायुसेवा कम्पनीले भने व्यापार गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।