फाइल तस्बिर काठमाडौं- पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका बिहीबारबाट पुनः संचालनमा आएको छ। तर चीनियाँ पक्षले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन्। चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकोले व्यवसायी चिन्तित देखिएका छन्।
कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ। नयाँ मापदण्ड अनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनीयाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ।
एक चीनियाँ कन्टेनर सामानले नेपाल तर्फको २ देखि ३ कन्टेनर सामान भरिन्छ। यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक पचास भन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन्। तर नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै समान आएको थियो।
चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै सामग्री पठाउँदा आफुहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताए। समान ढिलो आउँदा स्याउ लगायतका खाद्य सामाग्री कुहीन थालेकोले नाकालाई निरन्तर खुल्ला गर्नुपर्ने बताए।
नाकालाई पूर्ण रुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्ण रुपमा बन्द गरेर समुन्द्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यावसायीहरुको माग गरेका छन्। भन्सार नाका पूर्ण रुपमा सञ्चालनमा नआँउदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल–चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले उल्लेख गरे।
अहिलेसम्म स्याउ र केही रेडीमेड कपडा मात्रै अएको छ। यही गतिमा सामान आउने हो भने अहिले व्यापारिहरुले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्न सक्ने तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड परिक्षणको रुपमा रहेकोले थोरै मात्रामा सामान आयात भइरहेको उनको भनाइ छ।
आयातित सामग्री पूर्ण क्षमतामा ल्याउनको लागि आफूहरु मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताए। नाका पूर्ण रुपमा सञ्चालनमा आएमा दैनिक करोडौं राजश्व संकलन हुने र रोजगारीको अवसरसमेत वृद्धि हुने भएकोले छिटोभन्दा छिटो नाकालाई पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।