काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गरेका छन्।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैँसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृत्तिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलको भनाइ छ।
सोमबार साँझ न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृत्तिका कारण संकटको अवस्था आएको बताए।
‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ। त्यहाँ कुराहरु हुन्छ। अनि काउन्टर रणनीति के बन्छ भन्दा समीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैँसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ,' उनले भने, 'त्यो योजना यता ल्याउनुहुन्छ। अनि समस्या त खडा हुने भयो। गर्नु के पर्थ्यो भने दुई अध्यक्षबीचमा छलफल हुने सहमति हुने र यदि सहमति हुन सकेन भने आ–आफ्नो विश्वासिला साथीहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरा गरे भइहाल्छ। अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेसनसम्म पुर्याउने कुरा गरे त हुन्थ्यो। त्यो नगर्ने बित्तिकै बिग्रेको हो।’
पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्नेपनि उनको भनाइ छ। पार्टी एकता गर्दाको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको पनि नेता पोखरेलले उल्लेख गरे।
‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन पर्यो। त्यो आधारमा टेक्नुपर्यो। त्यहाँ टेकेर अगाडि बढ्नु पर्यो। यदि सकारात्मक निष्कर्षमा पुर्याउने, दुर्घटना हुनबाट बचाउने हो भने योभन्दा अर्को कुनै विकल्प हुँदैन। यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुखद परिणाम हुन्छ,’ उनको भनाइ छ।
अहिले पनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्री समक्ष दबाब सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलको टिप्पणी छ। ‘अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरुअरु साथिहरुसित सल्लाह गर्दै समीकरण बनाउने र त्यो समीकरणको बलमा यता दबाब सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन। त्यो उचित हुँदैन। त्यो हानिकारक हुन्छ। त्यसले दुःखद परिणाममा पुर्याउँछ,’ उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।
नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्ने बाहेक केही पनि काम गर्न नसकेको समेत बताए। यस्तै पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनैपनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।