काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्रको विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका कामकारबाहीका विषयमा छलफल भएको छ।
सोमबारको बैठकमा पार्टीको आन्तरिक विवाद, महाधिवेशनको तयारी र महामारी नियन्त्रणका लागि सरकारका काम कारबाही प्रभावकारी हुन नसकेको विषयमा छलफल भएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राख्दै आएको असन्तुष्टि र महाधिवेशन केन्द्रित छलफल भएको उनले बताए। उनले पार्टीभित्र देखिएको मत भिन्नता र महाधिवेशन हुने/नहुने विषयमा देखिएको अन्यौलताका विषयमा पनि छलफल भएको बताए।
यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको उनले उल्लेख गरे।
कोरोना संकटको बेला सरकार संवेदनशील नभएको उल्लेख गर्दै उनले जनताको सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकले स्पष्ट पार्ने र केन्द्रीय समिति बैठकमा निर्णय गरेर अगाडि बढ्ने उनले उल्लेख गरे। बैठक मंगलबार पनि बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।