काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले मनोनयन दर्ता गरेका छन्। प्रधान प्यानलबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा २० केन्द्रीय सदस्यले पनि मनोनयन दर्ता गराएका छन्।
यसअघि प्रधानले राजधानीमा आयोजित एक कार्यक्रममार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।
उम्मेदवारी घोषणा कार्यक्रममा प्रधानले आफूले महासंघलाई एक पवित्र मन्दिरका रुपमा लिएको र आफू त्यसको पूजारी बनेर सेवा गर्न तयार रहेको बताए। उनले महासंघभित्रको खराब प्रवृत्ति अन्त्य गर्ने र भूमिकाविहीन रहेका व्यक्तिहरुलाई जिम्मेवारीमुक्त गर्न आफूले उम्मेदवारी घोषणा गरेको बताए।
‘मेरा लागि महासंघ एक मन्दिर हो र मैले यहाँ पुजारी बनेर पूजा गर्न चाहन्छु। महासंघभित्र केही राजनीतिक आवरणको क्यान्सर पनि छ। अब त्यो निकाल्नुपर्छ,’ उनले भने।
महासंघको वरिष्ठ उपाध्यक्षका अर्का दाबेदार चन्द्रप्रसाद ढकालले कात्तिक ५ गते उम्मेदवारी दर्ता गराईसकेका छन्। आगामी मंसिर ११, १२ र १३ गतेका लागि तोकिएको महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा प्रधान र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।