काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
प्रधानले सोमबार भिभान्त होटलमा आयोजित एक कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
प्रधान प्यानलबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा कार्यक्रममा प्रधानले आफूले महासंघलाई एक पवित्र मन्दिरका रुपमा लिएको र आफू त्यसको पुजारी बनेर सेवा गर्न तयार रहेको बताए। त्यस्तै उनले महासंघभित्रको खराब प्रवृत्ति अन्त्य गर्ने र भूमिकाविहीन रहेका व्यक्तिहरुलाई जिम्मेवारीमुक्त गर्न आफूले उम्मेवारवारी घोषणा गरेको बताए। ‘मेरा लागि महासंघ एक मन्दिर हो र मैले यहाँ पुजारी बनेर पुजा गर्न चाहन्छु। महासंघभित्र केही राजनीतिक आवरणको क्यान्सर पनि छ। अब त्यो निकाल्नुपर्छ।’ उनले भने।
महासंघको वरिष्ठ उपाध्यक्षका अर्का दाबेदार चन्द्रप्रसाद ढकालले कात्तिक ५ गते उम्मेदावारी दर्ता गराईसकेका छन। आगामी मंसिर ११, १२ र १३ गतेका लागि तोकिएको महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा प्रधान र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।