काठमाडौं- लगानीकर्ताले सुधारिएको बजारबाट नाफा बुक गर्न खोज्दा आइतबार ४.७२ अंकको करेक्सन भएको छ। गत बुधबार ४१.२० अंकले सुधार भएको बजारमा बिहीबार र आइतबार नै सामान्य करेक्सन भएको हो। दसैंपछि खुलेको पहिलो बजारमै उछाल आए पनि लगानीकर्ताले छिट्टै नाफा बुक गर्न खोज्दा घट्न थालेको हो।
सबैभन्दा धेरै जलविद्युत कम्पनीका सूचकमा उछाल देखिएको छ। अधिकतम बढ्ने कम्पनीमा जलविद्युत कम्पनीहरु बढि छन्। हिमालयन ऊर्जा, नेपाल फाइनान्स र विशाल बजारको सूचकमा सबैभन्दा धेरै बढ्ने क्रममा सर्किट लागेको छ। जम्मा १९६ वटा कम्पनीको शेयर कारोबार हुँदा ८४ वटाको मूल्यमा सुधार आएको छ भने ७४ वटाको मूल्यमा गिरावट आएको छ।
केही समयअघि वाणिज्य बैंक तथा अन्य कम्पनीको शेयर कारोबार बढि हुने गरेकोमा पछिल्लो समय जलविद्युत कम्पनीको सबैभन्दा धेरै हुने गरेको छ। आइतबार शिवश्री हाइड्रोपावरको २३ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। जलविद्युत कम्पनीको शेयर मूल्यमा अझै सुधार हुने बजार हल्लासँगै लगानीकर्ताको ध्यान यता मोडिएको हो। अन्य सूचकमा यस अगाडि उछाल आउदा समेत जलविद्युतको सूचकमा सुधार देखिएको थिएन। बजार सुधार हुने ट्रेण्डमा पालैपालो सूचकमा सुधार हुने गरेको छ।
आइतबार नेप्से सूचक ४.७२ अंकले घटेर १६४०.९६ मा झरेको छ। जम्मा दुई अर्ब ९३ करोड रुपैयाँको कारोबार हुँदा १० करोड ६२ कित्ताको कारोबार भएको छ। अन्य क्षेत्रमा लगानी बन्द हुँदा लगानीकर्ताको ध्यान दोस्रो बजारमा रहेको छ। अर्थमन्त्री स्वंयमले नेपालको अर्थतन्त्र पुरानै लयमा फर्कन समय लाग्ने बताउदै गर्दा दोस्रो बजारमा भने उछाल आइरहेको छ। सुधार हुँदा धेरैले बढ्ने घट्दा थोरैले घट्ने भएकाले नेप्से सूचक लगातार बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।