काठमाडौं- अनलाइन कराते वर्ल्ड च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य पदक जित्न सफल भएको छ। नेसनल कराते अफ ब्राजिलको आयोजनमा ३० र ३१ अक्टोबरमा भएको अनलाइन काता च्याम्पियनसिपमा नेपालले १० पदक जितेको प्रशिक्षक तथा खेलाडी रविन्द्र मानन्धरले जानकारी गराए।
नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण जिते। ब्राउन बेल्टदेखि ब्लाक बेल्ट सम्मको प्रतिस्पर्धा गराइएको च्याम्पियनसिपको १३ देखि २१ वर्ष समूहमा निताले २४.७० अंक प्राप्त गर्दै आयोजक ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गर्दै स्वर्ण कब्जा गरेकी हुन्। क्यारोलिनले २४.५५ अंक प्राप्त गरेकी थिइन्। तेश्रो स्थानमा इन्डोनेसिया र भारतका खेलाडीहरु रहे।
यस्तै पुरुष तर्फको सोहि स्पर्धामा नेपालका सोनिम मानन्धरले २४.९६ अंकका साथ स्वर्ण हात पारे। उनले भारतको सायक कमाकरलाई पराजित गरेका थिए। सायकले २४.७३ अंक हात पारेका थिए। तेश्रो स्थानमा क्युवा र ब्राजिलका खेलाडी रहे।
निता र सोनिमले वेष्ट अफ दि वेष्ट तर्फ पनि कास्य पदक प्राप्त गरे। निताको समूहमा ब्राजिलले स्वर्ण, पेरुले रजत र इन्डोनेसियाले कास्य पाए। यस्तै सोनिमको समूहमा मोरक्कोले स्वर्ण प्राप्त गर्दा ईन्डोनेसियाले रजत र कास्य पायो।
यस्तै नेपालका लागि सञ्जु देसारले रजत जितिन्। महिला १४ देखि १५ बर्ष उमेर समूहमा देसारले २५.३१ अंक प्राप्त गरेकी थिइन्। प्रथम स्थान हात पारेकी इन्डोनेसियाकी नविला सकिलालिनोमले २५.३५ अंकका साथ स्वर्ण जितेकी थिइन्। तेश्रो स्थानमा रसिया र ब्राजिलका खेलाडी रहे।
पुरुष ग्रिन देखि ब्लाकबेल्ट ८ देखि ९ बर्ष उमेर समूहको प्रतिस्पर्धामा सत्कार घर्ती मगरले ३७.१० अंक प्राप्त गर्दै नेपालका लागि कास्य जोडे। भेनेजुएलाका ग्राबिल इडुआर्डोले ३२.३० अंकका साथ स्वर्ण र इन्डोनेसियाका मोहमद अल तरावीले ३२.१७ अंकका साथ रजत पाए। यस्तै पेरुका आर्तुरो सान्चेजले कास्य पाए।
महिलाको ह्वाईट÷एलो बेल्टको १४–१५ वर्ष समूहमा दीपिका सापकोटाले २३.०१ अंकका साथ कास्य पाइन्। सो स्पर्धामा आयोजक ब्राजिलका खेलाडीहरुले स्वर्ण, रजत र कास्य पाए। यस्तै महिलाकै अरेन्ज÷रेड बेल्टमा अनुभा मङ्गर्तीले कास्य पाइन्। उनले २२.७३ अंक हात पारेकी थिइन्। सो स्पर्धामा उज्वेकिस्तानले स्वर्ण तथा ब्राजिलले रजत र कास्य पाए।
महिला जुनियर १३ देखि २१ वर्ष उमेर समूहमा मिस्ली श्रेष्ठले २३.५३ अंकका साथ कास्य हात पारिन्। यस स्पर्धामा पहिलो, दोश्रोका साथै अर्को तेश्रो स्थान ब्राजिलले हात पारे।
१२ देखि ३१ वर्ष ब्लाक बेल्ट स्पर्धामा भने नेपालका खेलाडी राज कुमार श्रेष्ठ पाँचौ स्थानमा रहे। मास्टर्स ३२ देखि ४१ वर्ष उमेर समूहमा नेपालका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले कास्य पदक प्राप्त गरे। उनले २४.१७ अंक प्राप्त गरेका थिए। सो स्पर्धामा स्वर्ण र रजत आयोजक ब्राजिलले हात पार्यो। हेल्दर कोटेस बोनिफासियोले २४.७३ अंक र कृष्टिआनो भानीले २४.३० अंकका साथ स्वर्ण र रजत प्राप्त गरे। अर्को कास्य पदक ब्राजिलकै पोल्टमा पर्यो।
उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट रवी शाहीले संयोजनको भूमिका निर्वाह गर्नुका साथै निर्णायकको भूमिका पनि निर्वाह गरेको प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।