काठमाडौं–नेपाल बैंकको नाफा चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासमा ५.४० प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा ३ करोड रुपैयाँले गिरावट आएको छ। बैंकले कोभिडका कारण बिग्रिएको कर्जाको प्रोभिजनिङ र कर धेरै तिर्नु पर्दा नाफामा गिरावट आएको हो।
बैंकले पहिलो तीन महिनामा ५५ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जबकि अघिल्लो वर्षको सोही अवधिमा ५८ करोड १८ लाख रुपैयाँ थियो। बैंकको खुद व्याज आम्दानी ११.५४ प्रतिशतले सुधार हुँदा पनि नाफामा गिरावट आएको हो। कोभिडका कारण बैंकले १५ करोड ५९ लाख रुपैयाँ बिग्रिएको कर्जाका लागि प्रोभिजनिङ बापत पैसा छुट्टाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यवस्था जम्मा १० करोड ९९ लाख रुपैयाँ थियो।
साथै आम्दानीमा लाग्ने कर पनि ५ करोड रुपैयाँ बढेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० करोड १६ लाख रुपैयाँ कर भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १५ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको थियो। एनएफआरएस अनुसार बैंकको वितरण योग्य मुनाफा १९ करोड रुपैयाँ मात्रै रहेको छ।
बैंकले पहिलो तीन महिनामा एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। निक्षेप २.३६ प्रतिशतले सुधार गर्दा कर्जा लगानी २।३५ प्रतिशतले बढाएको छ। साथै खुद व्याज आम्दानी ११.५४ प्रतिशतले बढेर एक अर्ब ४८ करोड रुपैयाँ आर्जन गरेको छ। प्रतिशेयर आम्दानी एक रुपैयाँले घटेर १९ रुपैयाँमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।