काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण रहेको बताएका छन्।
कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भीर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको उनले बताएका हुन्।
शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भीर संकुचन आएको उल्लेख गरे।
कोभिडको कारण देखा परेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण भएपनि आफूले अधिकतम प्रयास गर्ने उनको भनाइ छ। स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ अर्थमन्त्री पौडेलले जोड दिए।
मानिसको जीवन र जीविकाको रक्षा गर्न वर्तमान परिस्थितिको सीमा भित्र रहेर चुनौतीहरुलाई सामना गर्दै रोजगारी बढाउने समेत अर्थमन्त्री पौडेलले स्पष्ट पारे। त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई अगाडि बढाई समग्र आर्थिक जीवनलाई गतिशिल बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।