काठमाडौं- बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘लक्ष्मी बम्ब’ विवादमा फसेको छ। दीपावलीमा रिलिजको तयारीमा रहेको फिल्मको शीर्षकका कारण निर्माण टिम विवादमा तानिएको हो।
चलचित्रको नाम परिवर्तन गर्नुपर्छ भन्दै श्री राजपुत कर्णी सेनाले निर्माण टिमलाई कानुनी सूचना पठाएको छ। अक्षय र कियारा आडवाणी अभिनित यस चलचित्र यसै वर्षको नोभेम्बर ९ मा डिज्नी प्लस हटस्टारमा रिलिजको तयारीमा थियो।
बलिउड हंगामाका अनुसार, यो सूचना कर्णी सेनाका तर्फबाट आघवेन्द्र मेहरोत्राले पठाएका हुन्। नोटिसमा लक्ष्मी बम्ब हिन्दू धर्मावलम्बीहरुले पुज्ने लक्ष्मी भवानीप्रति अपमानजनक र आपत्तिजनक भएको उल्लेख गरिएको छ।
यसका साथै निर्माण टिमले जानीबुझी लक्ष्मी बम्ब नाम राखेको जिकिर नोटिसमा गरिएको छ। फिल्मले देवीको अनादर गरेको आरोप उनीहरुको छ।
निर्देशक राघव लरेन्सले मूल तमिल चलचित्र ‘मुनि २: कन्चना’ पनि निर्देशन गरेका थिए। यही तमिल चलचित्रको हिन्दी रिमेक ‘लक्ष्मी बम्ब’ एक पुरुष, जसलाई ट्रान्सजेन्डर भूतले आफ्नो नियन्त्रणमा राख्छ, त्यसको कथामा आधारित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।