काठमाडौं– मनोहरा र बागमती नदीको दोभानमै पर्छ, च्यासल फुटबल मैदान। दशरथ रंगशालाको विकल्पमा हेरिएको च्यासल मैदान विकल्पका रुपमा सोचियो मात्रै त्यसैअनुसार अघि बढ्न भने सकेको छैन। अहिले यो ओझेलको मैदान जस्तो भइरहेको छ।
ठूला अन्तर्राष्ट्रिय स्तरको रंगशाला अभावमा नेपाली खेलकुद सधैँ छटपटाइ रह्यो र अझै छटपटाइरहेको छ। २०७२ वैशाखमा आएको विनाशकारी भूकम्पले दशरथ रंगशालालाई भग्नावशेषमा परिणत गर्दा त्यसको विकल्प खोज्न थालियो। तत्कालिन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्यासल खेल मैदानलाई रंगशालाको विकल्पमा प्रयोग गर्न निर्माणको लागि सम्झौता गरे।
करिब दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित योजना अघि सारिए। भौतिक संरचनाको अभावमा रुमलिइरहेको खेलकुद क्षेत्रलाई यो निर्णयले केही सार्थकता दियो। सुरुमा १० देखि १२ हजार दर्शक क्षमताको रंगशाला निर्माण हुने थाहा पाएपछि यो कुराले सबैलाई उत्साहित बनायो। तर अहिले निर्माण भइसक्दा करिब ४ हजार दर्शक क्षमता नै घटेको छ।
यतिबेला यो मैदानप्रति खासै कसैको चासो पुगेको छैन। भइरहेको निर्माण सम्पन्न गर्नतर्फ सरकार मात्रै हैन एन्फा आफै पछि सरेको देखिन्छ। एउटा कुरा के प्रस्ट देखिन्छ भने एन्फाका पदाधिकारी नै च्यासल मैदानप्रति सकारात्मक छैनन्। एन्फाका एक उच्च अधिकारी भन्छन्, ‘पुराना कार्यसमितिले गरेको निर्णय हो। बाटो र नदीको भाग पनि ओगटेको छ।’
पुराना कार्य समितिले गरेको निर्णय नयाँ नेतृत्व आएसँगै बेवास्ता गर्ने परम्परा खेलकुद क्षेत्रमा ब्याप्त छ। जसको ज्वलन्त उदाहरण बनेको छ, च्यासल मैदान। एन्फाका उच्च अधिकारी थप्छन्, ‘सानो ठाउँमा ठूलो सपना देख्नु हुन्न। मैदानमा धेरै समस्याहरु छन्।’
एन्फाकै योजना तर हेलाको व्यवहार गर्दा मैदानको कामले गति लिन सकेको छैन।
कहिले सकिन्छ काम?
२०७३ साल मंसिरदेखि २०७५ फागुनमा सक्ने लक्ष्यसहित डाँफे प्रेररा प्रतिष्ठाले निर्माणको जिम्मा लियो। ३३ करोड रुपैयाँमा मैदानको प्याराफिट, मैदान, नाली, गेट, शौचालय तथा टिकट घर निर्माण गर्ने गरी सम्झौता भयो।
करिब दुई वर्षमा सक्ने लक्ष्य थियो। तर तोकिएको समय भन्दा दुई वर्ष ढिलो भइसक्यो। अझै काम सकिएको छैन। काम सुस्त छ। पछिल्लो समयमा कोरोना भाइरसलाई देखाउँदै काम हुन सकेको छैन।
अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले चाहेको भए यो मैदान करिब दुई वर्ष अघि नै सम्पन्न भइसक्थ्यो। तर मैदान निर्माणमा न सरकारले राम्रो चासो दियो न एन्फाले। पात्र परिवर्तन भएसँगै पूराना योजना पनि परिवर्तन हुने शैलीले च्यासल मैदानले पूर्णता पाउन सकेन।
करिब दुई वर्षको अवधिमा त च्यासल जस्तै अर्को मैदान निर्माण भइसक्ने समय हो। तर सम्बन्धित निकाय भाषणमै रमाउँदा काम के भइरहेको छ भन्नेमा ध्यान देखिँदैन। राखेप सदस्यसचिव रमेश सिलवाल आफ्नो कार्यकालमा १३ औं सागमा सर्वाधिक ५१ पदक जित्नलाई नै सफलता ठान्छन्। तर भौतिक संरचनामा भने उनी चुकिरहेका छन्। दशरथ रंगशालालाई देखाएर मात्रै हुँदैन।
ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर महेश जोशी भने मैदान अन्तिम चरणमा पुगेको बताउँछन्। ‘काम लगभग सक्यो। बिजुलीको लाइन जोड्नु र इन्टरनल ब्लकको काम बाँकी छ। सिट राख्ने काम भने लक डाउनअघि नै सकेको हो। अन्तिम चरणमा छ। करिब २–३ प्रतिशत काम बाँकी छ।’
असफल योजना
च्यालस फुटबल मैदानलाई दशरथ रंगशालाको वैकल्पिक मैदानकै रुपमा लिइएको छ। अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न हुने योग्य रंगशाला निर्माण हुने एन्फाको दाबी छ।
तर च्यासल मैदानलाई थप क्षमता विस्तार गर्न गरिएको अध्ययन अनुसन्धान नै अपूर्ण देखिन्छ। यतिसम्म कि एन्फा, सरकार र ठेकेदार कम्पनीले हचुवाको भरमा निर्माण थालेको स्पष्ट हो।
पूर्व तथा पश्चिम पट्टी दुई वटा ठूला प्याराफिट निर्माण भएका छन्। बागमती नदी र मनोहरा नदीको दोभानमा रहेको च्यासल मैदान अध्ययन बिना निर्माण थालियो। मनोहरा नदीकै किनारमा रोड छ। जुन मैदानसँगै जोडिएको छ। सुरुमा दुबैतर्फका प्याराफिट मनोहरा नदी साइड च्यापिएको थियो। जग पनि हालिसकेको थियो। तर विवाद भएपछि करिब २५ मिटर वरबाट मात्रै प्याराफिट बनाइएको छ।
यसको प्रत्यक्ष प्रभाव दर्शक क्षमतामा पुगेको छ। सुरुमा १० देखि १२ हजार दर्शक क्षमताको मैदान निर्माण हुने अध्ययनले देखाएको थियो। तर अहिले ८ हजार दर्शक क्षमताको बनेको ठेकेदार कम्पनी बताउँछ।
ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर जोशी भन्छन्, ‘बागमती नदीको नियम अनुसार छोडेको हो। पहिले नियम थिएन। पछि नियमहरु संशोधन भएर आएपछि बनाउँदा बनाउँदै छोडेको हो। हचुवाको भरमा भन्न मिल्दैन। ८ हजार दर्शक क्षमताको छ।’
एन्फासँगको सम्झौतमा राखेपले प्याराफिट, शौचालय, गेट, टिकट काउन्टर, मैदानको वरिपरी नाली बनाउने लगायतका काम गर्नेछ। त्यसपछि यो च्यासल मैदान एन्फालाई हस्तान्तरण गर्नेछ। एन्फाले बाँकी काम पूरा गरी मैदानलाई अन्तर्राष्ट्रिय खेल खेलाउन लायक बनाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।