काठमाडौं– मैदानमा रमाइरहेर पाएको आरामको समय हुन्थ्यो भने खेलाडीहरु दसैँमा खुब रमाउँथे। तर खेल्नै नपाएको आठ महिना भइसक्दा दसैँ पनि खल्लो बनेको छ। सबैभन्दा चिन्ता छ मैदान कहिले फर्कने?
लामो बन्दले खेलाडीमा फिटनेसको समस्या मात्रै होइन खेलविहीन हुँदा आर्थिक समस्याले पनि सताइरहेकै छ। होटल रेस्टुरेन्ट सपिङ मलहरु खुल्नेदेखि सार्वजनिक यातायातमा पूरा सिट क्षमतामा यात्रु राख्न पाउने निर्णयसमेत भइसक्यो तर लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको खेल क्षेत्रका बारेमा भने कसैलाई चासो देखिँदैन।
कोरोनाका कारण नेपालभन्दा निकै उच्च जोखिममा रहेका देशले खेलाडीलाई अभ्यासमा राख्ने मात्रै होइन सुरक्षित रुपमा विभिन्न प्रतियोगिता सञ्चालन समेत गरिसकेका छन्। घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत सुरु भइसक्दा नेपाल सरकारले भने खेलकुदको अभ्यास सञ्चलान समेत गर्न अनुमति दिएको छैन। त्यसमा खेल संघहरुले गर्नुपर्ने आवश्यक पहलको कमि भएको महसुस खेलाडीहरुले गरिरहेका छन्।
कोरोना भाइरस (कोभिड–१९) को कारण गत चैत पहिलो सातादेखि खेलकुद गतिविधि ठप्प छन्। अहिलेसम्म खेलाडीहरुले व्यक्तिगत रुपमा घरैमा शारीरिक स्फूर्तिका लागि गर्ने कामबाहेक अभ्यास पनि गर्न पाएका छैनन्। अघोषित रुपमा फुटसल सञ्चालन भइसक्दा पनि खेलाडीलाई सुरक्षित रुपमा अभ्यासमा फर्काउने प्रयास नहुनु खेल क्षेत्रप्रतिको उदासिनता नै हो।
उचित उपाय र सावधानी अपनाएर खेलकुदको गतिविधि सञ्चालन गर्न सकारले अनुमति दिनु पर्थ्यो भने केही विशेष योजना र सुविधाहरुको व्यवस्था खेलाडीलाई गरिनु पर्थ्यो भन्ने आवाज उठिरहेको छ। यो माहामारीको समयपछि मैदान फर्कने पर्खाइ हो भने त्यसले खेल क्षेत्र धरासायी हुने मात्र होइन खेलाडीहरुको वितृष्णा उचाइमा पुग्नेछ।
दसैँपछि फुटबलको अभ्यास गर्न दिने राखेपले निर्णय गरे पनि अन्य खेलको अवस्था भने यकिन छैन। खेलाडीहरुलाई आफ्नै मैदान विरानो लाग्न थालेको छ। पछिल्लो समयमा खेलाडीलाई कोरोनाको भन्दा पनि आफ्नो लय गुम्ने चिन्ता छ।
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले करिब सात महिनापछि बल छोइन्। केही उपाय नभएपछि उनी आफै एक साताअघि पोखरामा व्यक्तिगत अभ्यास गर्न थालिन्। भलिबलको न्यास्रो लागेकी कप्तान अरुणा सरकार र संघबाट केही नहुने भइपछि आफै भए पनि अभ्यासमा जुटिन्।
१३ औं दक्षिण एसियाली खेलकुदमा बक्सिङमा नेपाललाई स्वर्ण पदक दिलाएका भुपेन्द्र थापामगर अहिले गृह जिल्ला रोल्पामा छन्। उनी रोल्पा गएको पनि सात महिना कट्यो। शारीरिक ब्यायाम बाहेक उनले अहिले केही गर्न पाएका छैनन्। उनको दिन घरायसी काम गरेर बित्छ।
१३ औं सागमै नेपाललाई दुई स्वर्ण पदक दिलाएका मण्डेकाजी श्रेष्ठ घरैमा बसेर बिताइरहेका छन् दिनहरु। फुटबलका नवयुग श्रेष्ठ पनि इलाममा खेतबारीकै काम गरेर दिनहरु कटाइरहेका छन्। तर नवयुगलाई भने दसैँ लगत्तै हुने अभ्यासले केही राहात दिने आश छ।
नवयुगलाई आफ्नो फिटनेसको चिन्ता छ। लामो समयदेखि मैदानबाहिर रहँदा तत्काल पुरानै लयमा फर्किन नसकिने बताउँछन् उनी, ‘हामी पहिलेकै लयमा पुग्न पनि थुप्रै समय लाग्छ। कतिपय खेलाडीले व्यक्तिगत रुपमा फिटनेस लागि काम गरिरहका छन्। तर यतिले पुग्छ त? सात महिना बितिसक्यो। यतिका लामो समयमा खेलाडीमा अनेक समस्या आएका छन्।’
भलिबलकी कप्तान अरुणा पनि नवयुगको कुरामा सहमत छिन्। भन्छिन्, ‘अहिले त यतिकै बसिरहेका छौं। तर पछि खेलमा फर्किन निकै गाह्रो पर्छ। प्रतियोगिता नै नभए पनि स्वास्थ्य सुरक्षा अपनाएर अभ्यास गराएको भए राम्रो हुने थियो।’
भलिबलको अहिले नै तत्काल अभ्यास हुने छाटकाँट छैन। भलिबल संघ आफै नयाँ कार्यसमिति चयन गर्ने पाइपलाइनमा छ। कोरोना सामान्य जनजीवनमा नआइन्जेल भलिबलको अभ्यास हुने अवस्था छैन। यसअघि नै संघले तत्काल अभ्यास नगराउने बताइसकेको छ।
खेलाडीहरु भने कोरोनाबाट बच्न कडा सुरक्षा विधि अपनाएर भए पनि अभ्यासमा राख्नु पर्यो भन्ने मागमा छन्। संघ र सरकार अभ्यास नै नगराउने लाइनमा छ, प्रतियोगिता अलिक परको कुरा।
‘पिसिआर गरेर अभ्यास गरेको भए के हुन्थ्यो र? सरकारले नै खेलकुदमा बेवास्ता गरेको छ। बजेट नै छैन भन्छ’ अरुणा थप्छिन्, ‘एकदमै गाह्रो हुँदो रहेछ। सधैं अभ्यास गरिरहने, खेलिरहने मान्छे, खेल्न नपाउँदा, बल छुन नपाउँदा निकै गाह्रो पर्दो रहेछ।’
उता आफू जन्मेको सुन्दर भूमि हेरेर भुपेन्द्र आनन्दित त हुन सक्लान् तर उनलाई मिठो निन्द्रा भने कहिल्यै लागेन। आँखा बन्द गरे पनि उनको मन र दिमाग भने बक्सिङमै घुमिरह्यो।
चैत पहिलो साता नै रोल्पा पुगेका भुपेन्द्र भन्छन्, ‘यतिका लामो समय भइसक्यो न संघले खेलाडीलाई अभ्यासमा राख्नु पर्छ भनेको छ न सरकारले। पहिलेको जस्तो स्टामिना छैन। शून्य भइसक्यो। म त चैत पहिलो साता नै रोल्पा आएको थिएँ। यतै छु। सरकार र संघले नै नबोलाएपछि त्यतिकै आउने कुरा पनि भएन।’
१३ औं सागका स्वर्णधारी मन्डेकाजी श्रेष्ठ अब आउने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन पहिलेको जस्तो नरहने बताउँछन्। अरु देशले नियमित अभ्यास गराए पनि नेपाली खेलकुद भने ठप्प छ।
खेलाडीले बारम्बार भनिरहेका छन्, निश्चित मापदन्ड तोकेर अभ्यास गराउनु पर्यो। हाम्रो देश मात्रै हैन कोरोनाले विश्वमै प्रभाव पारेको छ। तर हामी भन्दा जोखिम रहेको देशहरुले प्रतियोगिता गरिसक्दा नेपाल भने चुपचाप बसेको छ।
‘खेलाडीको लागि यो निकै ठूलो दुःख हो। निकै राम्रो गरिरहेको खेलाडीको अब स्टामिना पनि घटेको छ। शून्यमा झरेको छ। १३ औं सागमा ५१ स्वर्ण पदक जितेको नेपालले दुई वर्षपछि पाकिस्तानमा हुने सागमा के होला? खेलाडीको स्तर झन बढाउँदै लानु पर्छ। यस्तो तरिकाले त घट्ने हो’, मन्डेकाजी भन्छन्।
कोरोनाको भयाभह अवस्थामा दसैँबारे के भन्छन् खेलाडी?
नवयुग श्रेष्ठ, फुटबलर
गृहजिल्ला इलाममै छु। घरकै कामहरु गरिरहेको छु। यो पटकको दसैँ यस्तै हो। परिवारसँगै हुन्छु। पहिले दसैँ मनाउन पाइएन। यो पटक पनि यस्तै त हो। देश कोरोनाको शोकमा छ। रमाउने बाहिरी आवरण न हो। भित्री मन त पोलिरहेकै छ नी।
अहिले कोरोनाबारे सबै जानकार छन्। विश्वमै भयानक अवस्था बनाएको यस्तो परिस्थितिमा तपाईको सानो गल्तिले तपाईको परिवार, समाज र राष्ट्रलाई नै ठूलो जनधनको क्षति हुन सक्छ। त्यसैले घरैमा बसौं। सकभर जहाँ हुनुहुन्छ त्यही दसैँ मनाउनु होला।
कोरोनाबाट बच्नको लागि अपनाउनु पर्ने सबै उपायहरु अपनाउनु पर्छ। कामै नगरी खान पुग्ने अवस्था सबैको छैन। यहाँ कोही भोगभोकै छन्, कोही शोक शोकमै छन्। यस्तो अवस्थामा सरकारले विशेष ध्यान दिएको भए हुने थियो। दसैँमा तडक भडकभन्दा पनि सीमित तरिकाले मनाउन सकिन्छ। पहिले हामी जसरी दसैँ मनाउथ्यौं त्यसरी दसैँ मनाउने अवस्था छैन।
अहिलेको मुख्य डर भनेकै दसैँमा घर गाउँ फर्किंदा कोलेसीको रुपमा कोरोना पो हुने हो कि भन्ने डर पनि छ। घर आउँदा पनि पिसिआर टेष्ट गरौं। हामी कोरोना छैन भनेर यत्तिकै आउँदा गाउँमै कोरोना सल्कियो भने? त्यसैले सबै सचेत हुनै पर्छ।
अरुणा शाही, कप्तान, महिला भलिबल
जो जहाँ हुनुहुन्छ त्यही मनाउँदा राम्रो हुन्छ जस्तो लाग्छ। घरमा जाँदा पनि पिसिआर परिक्षण गरेर जादा राम्रो हुन्छ। दसैँभन्दा पनि स्वास्थ्य ठूलो हो। दसैँ त आइरहन्छ नी। आफू सुरक्षित भयौं भने परिवारलाई सुरक्षित गर्न सक्छौं। परिवार सुरक्षित भयो भने समाज सुरक्षित हुन्छ।
अहिले काठमाडौंमा निकै कोरोना फैलिएको छ। त्यसैले गाउँ जादा कोरोना फैलिने धेरै सम्भावना रहेको छ। हामी सचेत हुनैपर्छ। सुरक्षाको सबै विधि अपनाएर दसैँ मनाउनु होला मेरो यही सन्देश छ।
भुपेन्द्र थापामगर, बक्सिङ खेलाडी
अहिले म रोल्पामै छु। यहाँ कोरोनाको खासै डर त छैन। तर पहिलेको जसरी दसैँ यो पटक हुँदैन। पहिलेदेखि नै चलिआएको पुजापाठ गाउँकै मन्दिरमा हुन्छ। कोरोनाको कारण नगर्ने भन्ने थियो तर फेरि पुजाआजा चाहिँ गर्नु पर्छ भन्ने भएर सबैले गर्न लागि रहेका छन्।
सकेसम्म पिसिआर चेक गराएर गाउँ जानु होला। त्यसले गर्दा तपाई पनि सुरक्षित हुनुहुन्छ। अरुलाई पनि कोरोना सर्नबाट जोगाउनु हुन्छ। अहिले पनि काठमाडौंबाट आएका मान्छेहरु गाउँमा त्यतिकै घुमिरहेका छन्। कोरोना परिक्षण पनि गरेका छैनन्। क्वारेन्टाइनमा पनि बसेका छैनन्। यसले गर्दा कोरोना फैलिने सम्भावना धेरै रहन्छ।
राज्यको जिम्मेवार नागरिक बनौं। हाम्रो सानो गल्तिले पनि ठूलो क्षति पुग्न सक्छ। अहिलेसम्म औषधि बनिसकेको छैन। त्यसैले कोरोनालाई ख्याल ठट्टाको रुपमा लिनु हुँदैन। सुरक्षित रहेर दसैँ मनाउनु होला। मेरो शुभकामना छ।
मण्डेकाजी श्रेष्ठ, कराते खेलाडी
जो जहाँ हुनुहुन्छ त्यही दसैँ मनाउन मेरो तर्फबाट सुझाव छ। काठमाडौंदेखि घर जाँदा त्यहाँ कोरोना नभएको व्यक्तिलाई कोरोना सर्न सक्छ। अहिले कोरोनाको उच्च जोखिम भनेको काठमाडौं हो। यो हुनु भनेको काठमाडौं उपत्यका बाहिरबाट पहिले सबै आवत जावत भइरहेर हो। नओस् पनि कसरी? खान लाउन धौ धौ भइसक्यो। बाध्यताले काठमाडौं सबै आए तर सँगै कोरोना पनि ल्याए। त्यसैले अहिले यस्तो भएको छ।
म चाहिँ के भन्छु भने दसैँ सामान्य तरिकाले मनाउनु पर्छ। जहाँ छौं त्यही मनाऔँ। मेरो दसैँ पहिलेको जस्तो हुँदैन। दसैँ भन्दैमा कोरोनालाई बिर्सिनु हुँदैन। सचेत हुनै पर्छ। परिवार र आफन्तजनमा भिडियो कल गरेर मनाइन्छ अब दसैँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।