काठमाडौं–नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच नेपालको पर्यटन प्रवर्द्धनका विभिन्न पक्षहरूका सम्बन्धमा सहकार्य गर्ने गरी सम्झौता भएको छ।
यो सम्झौताले अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने संयुक्त प्रवर्द्धनात्मक कार्य, परिचयात्मक भ्रमण, ब्रान्डिङ, नेपालमा आयोजना गरिने अन्तर्राष्ट्रिय स्तरका पर्यटन सम्बन्धित कार्यक्रमहरु जस्ता विभिन्न क्षेत्रहरुमा सहकार्य गर्ने कुरा सुनिश्चित गरेको नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए।
नेपाललाई अन्तर्राष्ट्रिय बजारमा एक प्रमुख आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रबर्धन गर्ने उद्देश्यले सार्वजनिक निजी साझेदारीको अवधारणामा गठित नेपाल पर्यटन बोर्ड र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबीच भएको सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले कोभिड–१९ को महामारीबाट सिर्जित वर्तमान संकटको बीचमा यस प्रकारको सहकार्यले दुई संस्थाबीचको बहुआयामिक सम्बन्ध थप मजवुत हुँदै जाने र यो संकटसँग लड्नका लागि थप ऊर्जा र शक्ति प्राप्त भएको बताए। उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रुपमा प्रबद्र्धन गर्न यो सम्झौता कोशेढुङ्गा सावित हुनेसमेत बताए।
सम्झौता पत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख रेग्मी र निगमका महाप्रबन्धक पौडेलले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।