काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएसँगै दसैँअघि नेपाल भारत उडान नहुने निश्चितप्रायः भएको छ। मन्त्री भट्टराई कोरोना संक्रमण भएर आइसोलेसनमा बसेपछि यससम्बन्धी काम अघि बढ्न नसक्दा नेपाल-भारत उडान दसैँअघि नहुने निश्चित भएको हो।
नेपालसँग एयर बबल सेवा सुरु गर्न भारतीय उड्डयन निकाय र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएपनि दसैँअघि उडान भने नहुने निश्चित भएको हो। नेपालबाट भारत जाने उडानमा नेपाली र भारतीय नागरिक मात्र र भारतबाट नेपाल आउने उडानमा नेपाली र भारतीय मात्र नागरिक बोक्न पाउने व्यवस्था एयर बबल हो। भारतले धेरै देशका एयर बबलबाट सेवा प्रदान गर्न थालिसकेको छ।
अबका केही दिनमा नै मन्त्रिपरिषद् बैठकले एयर बबलको उडान अनुमति दिइहालेको अवस्थामा पनि यसको तयारीका लागि कम्तीमा एक साता लाग्ने भएकाले दसैँअघि नेपाल-भारत उडान असंभव जस्तै देखिएको प्राधिकरणका एक अधिकारीले नेपाल लाइभसँग बताए। सरकारले अनुमति यसअघि मन्त्रालयले दसैँअघि नै नेपाल भारत एयर बबल उडान हुने बताएको थियो।
नेपाल सरकारले गत असोज १ देखि अन्तर्राष्ट्रिय उडान सुरु गरेपनि तत्कालका लागि नेपाली नागरिकलाई मात्र नेपाल ल्याउन पाउने व्यवस्था गरिएको छ। तर यसरी नेपाल आउने नेपालीले नै पनि सरकारले तोकेका मापदण्ड भने पूरा गरेकै हुनुपर्ने व्यवस्था छ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले एयर बबल नियमअनुसार नेपाल-भारत उडान सुरु गर्न अनुमति दिने अपेक्षा गरिएको थियो। तर मन्त्रिपरिषद्मा विभागीय मन्त्री नै उपस्थित नभएकाले यो प्रस्ताव अघि बढ्न नसकेको बताइएको छ।
मन्त्री भट्टराईलाई असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।