काठमाडौं- वाइन उत्पादनमा फलफूलको सट्टा अन्न र अन्य खाद्य पदार्थको प्रयोग हुन थालेको भन्दै त्यसमाथि अनुसन्धान सुरु भएको छ। आन्तरिक राजस्व विभागले देशभित्र चलिरहेका वाइन उद्योगले वाइनमा आवश्यक फलफूलको सट्टा गलत इन्ग्रिडेन्ट्स प्रयोग गरी गुणस्तरहीन वाइन उत्पादन गरिरहेको भन्दै अनुसन्धान थालेको हो।
वाइन उत्पादन फलफूल अझ त्यसमा पनि अंगुरको जुसबाट गर्नुपर्ने हुन्छ। तर नेपाली वाइन कम्पनीहरूले अंगुरको सट्टा अरु सस्ता फलफूल, खाद्यान्न र अन्य खाद्य पदार्थसमेत प्रयोग गरेर वाइन बजारमा पठाउने गरेको विभाग स्रोतले जानकारी दिएको छ।
'वाइन पिउने उपभोक्ताले गुणस्तरीय वाइन पिउन पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,' विभाग स्रोतले भन्यो, 'हामी सबैको अनुसन्धान गर्छौँ।'
विभागले स्वदेशी वाइन कम्पनीहरूले वाइन उत्पादनमा प्रयोग गर्ने इन्ग्रिडेन्ट्सको मापदण्ड तोक्ने तयारी पनि गरेको छ। 'पहिले हामी हेर्छौँ, सबैको अवस्था पनि थाहा हुन्छ,' विभागका एक अधिकारीले भने, 'त्यसपछि मापदण्ड तोक्ने तयारी पनि गरेका छौँ, त्यसको अध्ययन हुँदैछ।'
वाइनमा अंगुरको सट्टा अन्य सस्ता फलफूल र खाद्यान्नसमेत मिसाउँदा गुणस्तरमाथि पनि प्रश्न उठ्ने र सरकारले राजस्व पनि गुमाउने अवस्था आएको भन्दै अनुसन्धान अघि बढाउन लागिएको हो।
बियरपछि वाइनतिर छानबिन अघि बढ्यो
विभागले सुरुमा बियर कम्पनीहरूसँग उनीहरूले बियर उत्पादनमा प्रयोग गर्ने इन्ग्रिडेन्ट्सको विवरण मागेको थियो। त्यसमा अधिकांश बियर कम्पनीले जौबाट बियर उत्पादन गरिरहेको विवरण बुझाएका थिए भने गोर्खा ब्रुअरीको जौबाहेक चामल मिसाएर बियर उत्पादन भइरहेको पाइएको थियो।
गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरिरहेको भन्दै आन्तरिक राजस्व विभागले भन्सार विभागसँगको समन्वयमा १७ प्रतिशतभन्दा धेरै अल्कोहल मिश्रित रक्सीसरह अन्त:शुल्क लगाइदिएको थियो। बढी अन्त:शुल्क लगाएपछि कम्पनीले उत्पादन गरेका ५० लाख बोत्तल बियर अहिले फ्याक्ट्रीमा नै थन्किएका छन्।
'बियर भनेपछि बियर नै बनाउनु पर्यो, अरु इन्ग्रिडेन्ट्स प्रयोग गरेर गुणस्तरहीन बनाउन भएन, त्यसरी नै वाइन भनेपछि वाइनकै गुणस्तर भएको बनाउनुपर्यो,' विभाग स्रोतले भन्यो, 'एउटा कम्पनीको बदमासी भेट्टाएपछि हामीले अन्यत्र पनि छानबिन गर्न खोजेका हौँ, सबैले कानुनअनुसार नै काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ।'
गोर्खा ब्रुअरीले टुबोर्ग बियर, कार्ल्सबर्ग बियर, गोर्खा बियर, समर्सबी एप्पल साइडर, सान मिगल, रेडबुल, स्पोन्सर ओरिजिनल इलक्ट्रोलाइट बेभरजलगायत उत्पादन बिक्री गर्दै आएको छ।
सम्बन्धित समाचार
गोर्खा ब्रुअरीको एउटा बदमासी, जसलाई साथ दिँदा न्यायाधीशकै जागिर गयो
गोर्खा ब्रुअरीको गुणस्तरहीन बियर : अन्तःशुल्क नतिर्दा साढे ४ लाख कार्टुन गोदाममै थन्कियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।