तस्बिर- गोर्खा ब्रुअरीको वेबसाइट काठमाडौं- गोर्खा ब्रुअरीबाट उत्पादन हुने बियरमा जौको मात्रा कम भएको भेटिएपछि उच्च अल्कोहलयुक्त रक्सीसरह अन्त:शुल्क लगाइएको छ। आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीबाट उत्पादन हुने बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा कम रहेको भन्दै १७ प्रतिशतभन्दा धेरै अल्कोहल हुने रक्सीसरह नै कर लगाउने निर्णय गरेको हो।
आन्तरिक राजस्व विभागले भन्सार विभागलाई ५० प्रतिशतभन्दा कम जौ प्रयोग गरी उत्पादन भएका बियरको वर्गीकरण गर्न पत्र पठाएको थियो। भन्सार विभागले एकीकृत दरबन्दी वर्गीकरणको भाग २२ उल्लेखित व्यवस्थाअनुसार गोर्खा ब्रुअरीको बियरलाई 'अन्य'मा वर्गीकरण गरिदिएको हो। जुन न्यून गुणस्तरीय मानिन्छ।
भन्सारबाट प्राप्त वर्गीकरणअनुसार नै आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय नवलपुरलाई पत्र लेख्दै गोर्खा ब्रुअरीका बियरलाई उच्च दरमा अल्कोहल मिश्रित मदिरासरह अन्त:शुल्क लगाउन भनेको छ। बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा धेरै हुनुपर्ने व्यवस्था अन्त:शुल्क ऐनमा छ। त्यसैअनुसार अन्त:शुल्कको दर निर्धारण गरिएको छ। भन्सार विभागले कम्पनीको उत्पादनमा ५० प्रतिशत जौ नरहेको भन्दै अन्य वर्गमा वर्गीकरण गर्न सिफारिस गरेको हो।
जसअनुसार कार्यालयले गोर्खा ब्रुअरीका उत्पादनमा प्रतिलिटर ४३० रूपैयाँ अन्त:शुल्क लगाएको छ। जौको मात्रा ५० प्रतिशतभन्दा धेरै भएको बियरमा अन्त:शुल्क प्रतिलिटर १६५ रूपैयाँ लाग्छ। जौबाट बनेका बियरलाई अन्त:शुल्क वर्गीकरणअनुसार शीर्षक नम्बर २२०३.००.०० मा राखिन्छ।
भन्सार विभागले गोर्खा ब्रुअरीका बियर अन्य शीर्षकमा वर्गीकरण गर्न र तोकिएअनुसार जौबाट बनेको बियरको तुलनामा तीन गुणा धेरै करको दर कायम गर्न सिफारिस गरेकाे छ। त्यसैअनुसार कर कार्यालयले अन्त:शुल्क धेरै लाग्ने बताएपछि कम्पनीले ७ दिन उत्पादन नै रोकेको थियो। कम्पनीले आइतबारबाट उत्पादन निरन्तरता दिएको राजस्व कार्यालय कावासोतीले जनाएको छ। बियर उद्योगमा राजस्वले अन्त:शुल्क अधिकारी खटाएको हुन्छ।
आन्तरिक राजस्व विभागले असोज १६ गते आन्तरिक राजस्व कार्यालय कावासोती नवलपुरलाई पत्र पठाउँदै कम्पनीबाट उत्पादन हुने बियरमा जौको मात्रा कम भएको भन्दै कमसल बियरमा वर्गीकरण गरिदिएको थियो। विभागले वर्गीकरण पठाएसँगै कार्यालयले उच्च दरको अन्त:शुल्क दर तय गरिदियो।
नयाँ अन्त:शुल्क दर कायम भएपछि गोर्खा ब्रुअरीका केही उत्पादन बजारमा गएको छैन। कर कार्यालयले ४३० रूपैयाँ प्रतिलिटर अन्त:शुल्क दर निर्धारण गरिदिएपछि कम्पनीका उत्पादन बजारमा पठाइएको छैन। अहिले उसले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराएको छ। आन्तरिक राजस्व विभागले कर कार्यालयलाई कम्पनीले यसअघि प्रयोग गरेको इन्ग्रिडेन्ट्सको विवरण, सामानको स्टक र बजार पठाउन बाँकी बियरको स्टक लिन पनि भनिसकेको छ।
आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बियरमा आवश्यक कच्चा पदार्थको मात्रा गोर्खा ब्रुअरीले पुरा नगरेको भेटिएको बताए। 'बियरमा उत्पादन प्रयोग हुने इन्ग्रिडेन्ट्स पर्याप्त नभएपछि वर्गीकरण गरिएको हो,' उनले भने।
विभागले देशभरका कार्यालयबाट बियर उद्योगले आफ्ना उत्पादनमा प्रयोग गर्ने वस्तुहरू (इन्ग्रिडेन्ट्स)को मात्रा संकलन गर्न लगाएको थियो। संकलित इन्ग्रिडेन्टस् प्रयोगशाला परीक्षणका लागि भन्सार पठाइएको थियो। भन्सार विभागले गोर्खा ब्रुअरीको उत्पादनलाई 'अन्य' वर्गमा वर्गीकरण गर्दै त्यसको जानकारी आन्तरिक राजस्व विभागलाई गराएको थियो।
'आन्तरिक राजस्व विभागले हामीलाई बियरको गुणस्तरका सम्बन्धमा प्रयोगशाला परीक्षण गरी वर्गीकरण तय गरिदिन भनेको थियो, त्यसैअनुसार हामीले निर्णय गरिदिएका छौँ,' भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, 'वर्गीकरणमा समस्या आउँदा हामीलाई सोध्ने हो, हामीले त्यसैअनुसार जवाफ दिएका छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।