काठमाडौं– शनिबार राति गस्तीमा गएको बेलादेखि बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जवानको शव मंगलबार बिहान भेटिएको नेपाल लाइभलाई जानकारी दिए।
उनको शव असई गोविन्द बिकको शव भेटिएको ठाउँबाट करिब १ सय मिटर टाढाको दूरीमा मोहना नदीमा भेटिएको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत असई गोविन्द विक र जवान साउद गस्तीमा निस्किएका थिए। मोटरसाइकलमा गस्तीमा निस्किका उनीहरु अबेरसम्म नफर्किएपछि खोजी सुरु भएको थियो। उनीहरु चढेको मोटरसाइकल शनिबार राति नै भेटिएको थियो भने दुवै बेपत्ता भएका थिए। आइतबार बिहान मोहना नदीमा असईको शव भेटिएको थियो भने जवान साउद वेपत्ता थिए। अहिले मृत फेला परेका जवान साउदको पनि असईकै जस्तै धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको पाइएको छ । साउदको पनि घाँटीमा चोट छ।
तस्करको सामुहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष
धनगढी उपमहानगरपालिका १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेर नदीमा फालेको अवस्थामा असई र जवान फेला परेपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले अहिलेसम्म १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । आइतबार साँझ ११ र सोमबार बिहान २ जना गरी १३ जना पक्राउ गरिएको एसएसपी सिंहले जानकारी दिए।
‘प्रहरी हत्यामा संलग्न भएको आरोपमा १३ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौं’ एसएसपी सिंहले भने, ‘हत्याको कारण भने तस्करी नै देखिएको छ ।’
तस्करी रोक्न असईसहितको टोली सीमा नाकासम्म खटिने गर्थ्याे। पटक-पटक तस्करहरुसँग उनीहरुको विवाद समेत भएको पाइएको छ। तस्करका लागि प्रहरी नै तगारो भएपछि हत्याको योजना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको एसएसपी सिंहले जानकारी दिए । उनै तस्करहरुको सामुहिक आक्रमणमा असई र जवान परेको देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।