काठमाडौं-एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यावसायिक व्यक्तिहरुद्धारा प्रवर्द्धन गरिएको बसक रिन्युएबल इनर्जीसँग बायोमास पलेट उत्पादन गर्नका लागि १६ करोड रुपैयाँ बराबरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको छ।
परियोजना विकास गर्नका लागि बसक रिन्युएबल इनर्जीलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्वीटी फण्ड विजनेस अक्सिजन प्राइभेट लिमिटेडले इक्विटीका रुपमा ५ करोड रुपैयाँ लगानी गरेकाे छ भने इनर्जीका प्रमोटरहरुकाे ५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ।
एनएमबी बैंकले प्रदान गर्ने १६ करोड रुपैयाँ बराबरको कर्जालाई कम्पनीले बायोमास पेलेट मेशिन खरिद तथा चालु पुँजीमा उपयोग गर्ने छ। यस परियोजनाले वन क्षेत्रमा खेर गइरहेको र प्रत्येक वर्ष डढेलोले खाने बनमारा तथा झाडीको वायोमासलाई पेलेटको रुपमा परिवर्तन गरेर औद्योगिक एवं घरायसी ऊर्जाका लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने छ।
बायोमास पेलेट एक नवीकरणीय ऊर्जा हो। यसले परम्परागत ऊर्जाजस्तै पेट्रोलियम पदार्थ एलपिजी र कोइलाको विकल्प प्रदान गर्नेछ। सर्लाहीको इश्वरपुर नगरपालिकामा रहेको यस आयोजनाले प्रति वर्ष १९ हजार ८२४ मेट्रिक टन बराबरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ। पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनाबाट उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि २० वर्षको सम्झौता भइसकेकाे बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।