बुटवल- जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गैंडाको खागसहित ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले बुटवल उपमहानगरपालिका-८ स्थित राजमार्ग चौराहाभित्र रहेको सडकबाट उनीहरुलाई खागसहित पक्राउ गरेको हो। गैंडाको खागको तस्करी भएको सूचनाका आधारमा प्रहरीले स्याङ्जा वालिङ नगरपालिका-१० बस्ने ३५ वर्षीय सुन्दर श्रेष्ठको लु१३प ६०२६ नम्बरको मोटरसाइकलबाट उक्त खाग फेला पारेको थियो।
प्रहरीले मोटरसाइकलको पछाडि सवार बाग्लुङ बरेङ गाउँपालिका ३ का २९ वर्षीय ऋषिराम न्यौपानेको झोलाबाट खाग बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिल्ली नारायण पाण्डेले जनाए।
पाण्डेका अनुसार खाग तस्करीमा संलग्न स्याङ्जा गल्याङ नगरपालिका ८ का २७ वर्षीय सन्दीप बराल र वडा नम्बर ६ का ३० वर्षीय विजयविक्रम खाणलाई पनि पक्राउ गरी कारबाहीका लागि जिल्ला वन कार्यालय, रुपन्देहीमा पठाइएको छ। प्रहरीका अनुसार उनीहरु चढेको लु२६प ६५५६ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार खागको तौल ६ सय ३० ग्राम र उचाइ ६ इन्च छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।