काठमाडौं- नेपाली कराते खेलाडी सुवास घतानेले भर्चुअल विश्व कराते (काता) च्याम्पियनसिपमा रजत पदक जितेका छन्। सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जनाएका छन्। सो स्पर्धामा पोर्चुगलका खेलाडीले स्वर्ण तथा इटालीका खेलाडीले कांस्य जिते।
एपिएफका सुवासले त्यसअघि भएको नेपाल ओपन अनलाइन काता च्याम्पियनसिपमा भने स्वर्ण जितेका थिए। उनले रविन्द्र मानन्धरलाई पछि पार्दै स्वर्ण जितेका हुन्।
सोतोकान करातेका सुवासले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदमा रजत जितेका थिए। दुवै राष्ट्रिय खेलकुदमा भने सुवासले कुमुतेमा प्रतिस्पर्धा गरेका थिए। सातौंमा ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका सुवासले आठौंमा ६७ केजीमा खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।