काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुने वातावरण बन्दै गएको अवस्थामा पुन: मुद्दा दर्ता भएको छ। उच्च अदालत पाटनमा दर्ता भएको निषेधाज्ञा मुद्दाको अन्तरित आदेश यसअघि खारेज भई निर्वाचनको वातावरण बनेको अवस्थामा पुन: काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
काठमाडौं, ललितपुर, भक्तपुर, बारा र कञ्चनपुरका जिल्लाका अध्यक्षहरुले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका हुन्। उक्त रिटमा आफूहरुको मान्यता नरहेकाले रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
रिटको पेशी बिहीबारका लागि तोकिएको छ। उक्त रिटमा जिल्ला अदालतले अन्तरिम आदेश जारी गरेको निर्वाचनमा असर पर्ने उल्लेख छ। अन्तरिम जारी नभएमा निर्वाचन गर्ने बाटो खुलै रहनेछ।
बैसाख २२ गते एन्फाको निर्वाचन हुँदैछ।
एन्फा निर्वाचन रोक्न जारी भएको अन्तरिम आदेश बैसाख १३ गते उच्च अदालतले खारेज गरेको थियो। उक्त खारेजीसँगै एन्फा केन्द्रीय समितिको निर्वाचन गर्ने विषयमा देखिएको अन्योल सामाधन हुनेतर्फ अग्रसर भएको थियो।
उच्च अदालत पाटनले एन्फा निर्वाचन तत्कालका लागि रोक्न दिएपछि चैत १४ का लागि तय भएको निर्वाचन स्थगित भएको थियो। भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघको तर्फबाट दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न आदेश दिएको थियो।
भक्तपुरको निर्वाचन रोक्न भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिसहितले हालेको मुद्दा भने मंगलबार फिर्ता लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।