काठमाडौं- लामो समय मैदानबाहिर रहेका खेलाडीहरु मैदान फर्कन आतुर छन्। तर सरकारी निकायसँग खेल क्षेत्र पुनः सञ्चालन गर्न स्पष्ट नीति र योजना देखिँदैन। यसैले कोरोनाको कहरभन्दा पनि सरकारले खेलक्षेत्रलाई गरेको बेवास्ताका कारण खेलाडीहरु आक्रोश पोखिरहेका छन्।
सात महिना लामो बन्दले खेलाडीमा फिटनेसको समस्या मात्रै होइन खेलविहीन हुँदा आर्थिक समस्याले पनि सताइरहेकै छ। होटल रेस्टुरेन्ट सपिङ मलहरु खुल्नेदेखि सार्वजनिक यातायातमा पूरा सिट क्षमतामा यात्रु राख्न पाउने निर्णयसमेत भइसक्यो तर लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको खेल क्षेत्रका बारेमा भने कसैलाई चासो देखिँदैन।
कोरोनाका कारण नेपालभन्दा निकै उच्च जोखिममा रहेका देशले खेलाडीलाई अभ्यासमा राख्ने मात्रै होइन सुरक्षित रुपमा विभिन्न प्रतियोगिता सञ्चालन समेत गरिसकेका छन्। घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत सुरु भइसक्दा नेपाल सरकारले भने खेलकुदको अभ्यास सञ्चलान समेत गर्न अनुमति दिएको छैन। त्यसमा खेल संघहरुले गर्नुपर्ने आवश्यक पहलको कमि भएको महसुस खेलाडीहरुले गरिरहेका छन्।
कोरोना भाइरस (कोभिड–१९) को कारण गत चैत पहिलो सातादेखि खेलकुद गतिविधि ठप्प छन्। अहिलेसम्म खेलाडीहरुले व्यक्तिगत रुपमा घरैमा शारीरिक स्फूर्तिका लागि गर्ने कामबाहेक अभ्यास पनि गर्न पाएका छैनन्। अघोषित रुपमा फुटसल सञ्चालन भइसक्दा पनि खेलाडीलाई सुरक्षित रुपमा अभ्यासमा फर्काउने प्रयास नहुनु खेल क्षेत्रप्रतिको उदासिनता नै हो।
उचित उपाय र सावधानी अपनाएर खेलकुदको गतिविधि सञ्चालन गर्न सकारले अनुमति दिनु पथ्र्यो भने केही विशेष योजना र सुविधाहरुको व्यवस्था खेलाडीलाई गरिनु पथ्र्यो भन्ने आवाज उठिरहेको छ। यो माहामारीको समयपछि मैदान फर्कने पर्खाइ हो भने त्यसले खेल क्षेत्र धरासायी हुने मात्र होइन खेलाडीहरुको वितृष्णा उचाइमा पुग्नेछ।
खेल क्षेत्रलाई बेवास्ता गरेका कारण सरकारको चौतर्फी आलोचना भइरहँदा खेलाडीहरु सार्वजनिक रुपमा नै बोल्न थालेका छन्। सामाजिक सञ्जालहरुमा पनि उनीहरुको चिन्ता देखिइरहेको छ।
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले सामाजिक सञ्जाल फेसबुकमा सरकारलाई खुला पत्र नै लेखे। उनी भन्छन् ‘दुई खुट्टा चलाएर घर परिवार हेर्नुपर्ने हुन्छ। सात महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ? जुन खेलाडी खेलेर नै जीविका चलाउथे उनीहरु खेलमैदान छोडेर विदेश जाँदै छन्। यो लाज हुने कुरा होइन त माननीय ज्यू?’
यस्तो छ किरणको खुला पत्र
आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननीय सरकार ज्यूलाई मेरो सानो खुलापत्र लेख्न चाहन्छु।
नेपाली राष्ट्रिय फुटबल टोलीको तर्फबाट, कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सबै मापदण्ड पूरा गरेर पुनः सुरु गर्न हजुरहरुलाई आनुरोध गर्दछु। किन एकान दुकान गर्दै हुनुहुन्छ? के खेलाडी सधै मर्ममै पार्ने र मर्ने अवस्था हो भने तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र? खेलाडी चाहिँ सधैं काठमाडौंको धुलोमा तपाईंहरु चै चिलो गाडीमा।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का माननीय ज्यू र सम्माननीय नेपाल सरकारले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको छ। तर यतिका महिना खेलाडी र खेलकुद कुन दुरदशामा छ भनेर एउटा पनि चासोको विषय बनेन। अहिले फुटबलमा भविष्य खोज्ने भाइ बहिनीहरुमा कत्तिको असर परेको छ भन्ने कुरा खुलस्त रुपमा देख्न सकिन्छ।
सम्पूर्ण देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन। खेलाडीका लागि मात्र होइन खेलकुदका लागि पनि बोलिदिने मान्छे भएन। सबै देशमा फुटबल सुरु भइरहँदा पनि हाम्रो देशमा खेल मैदानको लागि दुःखद घडीमा बनाएको रंगशालामा फिल्मको सुटिङ, म्युजिक भिडियोको लागि प्रवेश खुला हुने तर फुटबलका लागि खेल्न चै किन नहुने? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र? अबका दिनमा सम्पूर्ण खेल मैदानमा खेल सुरु गरिदिन अनुरोध गर्दछु।
आखिर कहिलेसम्म नेपाली फुटबलरले फेसबुकमा लोकदोहोरी हेरेर बस्ने? नेपाली फुटबलको विकासका लागि कसैले केही गरिदिएको देखिएन। फुटबल खेलाडीले खेल्न बिर्सि सके। फुटबल राजनीति जस्तो होइन सरकार बोलेर मख्ख पर्न। चिलो गाडीमा बसेर गफ लगाए जस्तो पनि सजिलो हुँदैन। दुई खुट्टा चलाएर घरपरिवार हेर्नु पर्ने हुन्छ। सात महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ? जुन खेलाडी खेलेर नै जीविका चलाउथे ऊ त आजभोलि खेल मैदान छोडेर विदेश पो जाँदै छ। यो लाज हुने कुरा होइन, राज्यका माननीय ज्यू?
जय देश। जय नेपाली फुटबल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।